वामपन्थी गठबन्धनको राजनीतिक भविष्य
विद्यानाथ अधिकारी
संसदका प्रमुख दुई वामपन्थी दल नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकाएक गठबन्धन निर्माण भएपछि राष्ट्रिय राजनीति तरङ्गित भएको छ । एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता नै गर्ने सहमति भएको छ । यो सहमतिप्रति विभिन्न कोणबाट टिप्पणी भई रहेका छन् । खास गरी वामपन्थी धारबाट गठबन्धन निर्माणको स्वागत गरिएको देखिन्छ भने दक्षिणपन्थी धार यो गठबन्धनबाट आतङ्कित भएको देखिन्छ ।
एमाले र माओवादी लगायत दलहरूबीचको गठबन्धनले मुलुकको तत्कालीन राजनीतिमा कस्तो असर पार्ला भन्ने चौतर्फी जिज्ञासा छ । उनीहरूको गठबन्धन कति समय टिक्ला वा साँच्चै पार्टी एकता नै हुन सक्छ ? यो पनि आम चासोको विषय हो । वाम गठबन्धनले राष्ट्रिय राजनीतिलाई कुन मोड दिने हो र यसको भविष्य के हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ, तैपनि प्रगतिशील पक्षधर शक्तिहरूबीचको सहकार्य एउटा सकारात्मक कदम हो र यसले निरन्तरता पाउन सके राष्ट्रिय राजनीतिमा पनि सकारात्मक प्रभाव पर्ने छ ।
तर अहिले आम रूपमा अड्कल गरिए जस्तो एमाले र माओवादीबीच पार्टी एकता हुन सक्ने सम्भावना भने देखिदैन । एमाले र माओवादी गठबन्धनले न उनीहरूले भने जस्तो कम्युनिस्ट पार्टी निर्माण गर्न सक्छ, न त काङ्ग्रेसले भने जस्तो देशमा साम्यवाद नै आउने छ । यी दलहरूको मिलनले आउँदो निर्वाचनमा वामपन्थी दलहरूको वर्चश्व भने कायम हुने देखिन्छ । मूलतः निर्वाचनमा बहुमत ल्याएर सत्तामा पुग्ने रणनीति अन्तर्गत नै वाम एकता भएको प्रष्ट छ ।
आकस्मिक गठबन्धन
गत वर्ष केपी ओली नेतृत्वमा गठन भएको सरकारमा प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्र एकाएक बाहिरियो र माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गरे । त्यो गठबन्धनको मुख्य उद्देश्य संविधान संशोधन गर्नु थियो । केही समय अगाडि मात्र पनि संसदमा प्रस्तुन संविधान संशोधनको पक्षमा माओवादी उभिन पुगेको थियो भने एमाले विपक्षमा । अहिले पनि माओवादी सत्तापक्ष नै हो र ऊ संविधान संशोधनको पक्षपाती पनि हो ।
संविधान घोषणा गर्ने सन्दर्भमा जनआन्दोलनका साझेदार प्रमुख चार दलहरूले १६ बुँदे सहमति गरेका थिए । तत्काल संविधान जारी नगर्न र आफ्ना स्वार्थहरू समेत नयाँ संविधानमा समावेश गर्न भारतीय पक्षले दिएको चर्काे दबाबका बीच चार दलले स्पष्ट अडानका साथ संविधान घोाषणा गरे, त्यो स्वागतयोग्य कदम थियो । तर संविधान घोषणा लगत्तै चार दलीय गठबन्धन भत्कियो । नेपाली काङ्ग्रेसले प्रधानमन्त्री पदको लोभका कारण आफूलाई त्यो गठबन्धनबाट अलग गरेको थियो । त्यस अवस्थामा एमाले नेता केपी ओलीको नेतृत्वमा माओवादी समेत संलग्न सरकार बन्यो । तर माओवादी पनि ओली नेतृत्वको गठबन्धनमा लामो समय सँगै रहन सकेन । आफू सरकारमा रहेकै अवस्थामा माओवादीले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्यायो र काङ्ग्रेससँग मिलेर सरकार बनायो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले काङ्ग्रेससँग सहकार्य गरेको थियो । अहिले पुनः काङ्ग्रेससँगको सहकार्यबाट पछाडि हटेर विपक्षी दल एमालेसँग गठबन्धन गर्न पुगेको छ । तर माओवादी अहिले पनि सत्तापक्ष नै हो । शेर बहादुर देउवा नेतृत्वको सरकारमा माओवादी सामेल छ । एक पक्षसँग सत्ता साझेदारी गर्ने र अर्काे पक्षसँग चुनावी तालमेल गर्ने माओवादीको चरित्र पनि अनौठो देखिन्छ ।
संविधान घोषणा गर्दा राजनीतिक दलहरूबीच निर्माण भएको सहमति एउटा ऐतिहासिक कार्य थियो । गणतन्त्रका पक्षधर दलहरूबीचको सहकार्य स्वागतयोग्य कदम थियो । त्यसपछि पनि एमाले र माओवादी लगायत वामपन्थी दलहरूबीच बनेको गठबन्धन र त्यसले निर्माण गरेको सरकार पनि राष्ट्रियताका सन्दर्भमा उपलब्धिपूर्ण कदम थियो । अहिले बनेको वामपन्थी गठबन्धन गत वर्षको टुटेको कडी हो । तर माओवादी अध्यक्ष प्रचण्डको बोली र व्यवहार हेर्दा जसरी विगतमा कुनै विशेष कारण बिना नै गठबन्धन बन्ने र भत्कने गरेको छ, अहिले पनि यो गठबन्धन कति टिक्छ भन्न सकिदैन । विगतमा काङ्ग्रेस–माओवादी गठबन्धन बन्दा देश र जनताको आवश्यकता वा आन्तरिक कारणले बनेको थिएन भन्ने प्रष्ट छ । काङ्ग्रेस–माओवादी गठबन्धन संविधानमा भारतीय स्वार्थ अनुकूल संशोधन गर्न बनाइएको गठबन्धन थियो । प्रधानमन्त्री पदको लोभमा माओवादी अध्यक्षले सहजै त्यो गठबन्धन स्वीकार गरका थिए र संविधान संशोधनको पुरै प्रयत्न पनि गरेका थिए । अहिले एमालेसँग गठबन्धन गरी सकेपछि आफूलाई निकै तनाव भएको र ‘थ्रेट’ आउने गरेको प्रचण्डले बताएका छन्, यद्यपि त्यो थ्रेट कहाँबाट आएको हो, उनले खुलासा गरेका छैनन् तर दबाबका अगाडि उनीहरू कति टिक्न सक्नेछन्, शङ्काको घेरामा छ ।
पार्टी एकताको सन्दर्भ
केहि वर्ष अघि नेकपा (मसाल) र नेकपा (एकता–केन्द्र) बीच पार्टी एकता भएको थियो । ती दुई पार्टीबीच एकता हुन करिब चार वर्षको समय लागेको थियो । निरन्तरको छलफल र बहसपछि दुवै पार्टीबीच एकता गर्ने सहमति भएको थियो । सैद्धान्तिक रूपमा रहेका मतभेदहरूलाई छलफलका माध्यमबाट कम गर्दै र सहकार्य गर्दै पार्टी एकताको चरणमा पुगेको थियो । त्यस अवधिमा ती दुवै पार्टीले आफ्नो पार्टी पङ्क्तिको तल्ला निकायसम्म एकताबारे जानकारी दिनुका साथै सुझाव समेत मागेका थिए । राष्ट्रिय सम्मेलनबाट प्राप्त म्यान्डेट, कार्यकर्ता तहसम्म भएको छलफल र सैद्धान्तिक, राजनीतिक मतभेदलाई कम गर्दै बाँकी मतभेदहरू सार्वजनिक रूपमै छलफलका माध्यमबाट टुङ्ग्याउने सहमतिपछि नै दुवै पार्टीबीच एकता भएको थियो । तर अरू धेरै सैद्धान्तिक राजनीतिक विषय टुङ्गिएर साङ्गठनिक संरचनामा समेत मतभेद बिना पार्टी निर्माण भई सकेपछि पनि त्यो एकता लामो समयसम्म कायम हुन सकेन । माओवादीलाई हेर्ने भिन्न दृष्टिकोणका कारण पार्टी एकता चार वर्षमै भङ्ग भयो ।
तत्कालीन नेकपा (एके–मसाल) को एकता र फुटको सन्दर्भ अहिले किन सान्दर्भिक छ भने हालै निर्मित वामपन्थी गठबन्धनका साझेदार दलहरू एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै चुनावपछि पार्टी एकता नै गर्ने सहमति गरेका छन् । विभिन्न पार्टीहरूबीच हुने एकता कुनै आकस्मिक घटना नभएर निरन्तरको छलफल र त्यसले निकाल्ने सैद्धान्तिक सहमतिपछि नै हुन सक्छ । तर एमाले र माओवादीबीच सैद्धान्तिक रूपमा खासै विमति नभए पनि तत्कालीन राजनीतिका विषयमा उनीहरूका बीच चर्काे द्वन्द्व हुँदै आएको छ । यी दुवै दलका साङ्गठनिक संरचनामा समेत ठुलो अन्तर छ । एमालेले पुरै सङ्गठन खुला निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित गर्ने गरेको छ भने माओवादीले त्यो पद्धतिलाई स्वीकार गरी सकेको छैन ।
ती दुवै दलले आकस्मिक रूपमा गठबन्धन गर्ने र पार्टी एकता गर्ने घोषणा गरे पनि न सैद्धान्तिक रूपमा कुनै विषयमा आपसी छलफल चलाएका छन्, न त कार्यकर्ता तहमा आन्तरिक छलफल नै गरेका छन् । केन्द्रका नेताहरूको लहडका भरमा गरिएको पार्टी एकताको घोषणामा कुनै धरातलीय आधार भेटिदैन ।
एमाले, माओवादी गठबन्धनमा सामेल अर्काे दल नयाँ शक्ति पार्टी नेपालले आफूलाई वामपन्थी दल मान्दैन । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले केही समय अघि मात्र माओवादीसँग कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने बताएका थिए । डा. भट्टराई कम्युनिस्ट पार्टी र सिद्धान्तलाई औपचारिक रूपमै छोडेका नेता हुन्, यद्यपि एमाले र माओवादीले आफूलाई कम्युनिस्ट भने पनि आधारभूत रूपमा उनीहरूले कम्युनिस्ट सिद्धान्तलाई परित्याग गरी सकेका छन् । यसर्थ नयाँ शक्ति पनि सोही गठबन्धनमा बाधिनु अनुपयुक्त होइन, तैपनि कम्युनिस्ट झण्डा बोकी रहेका र औपचारिक रूपमै कम्युनिस्ट झण्डा छोडेका शक्तिहरूबीचको यो तालमेल अनौठो देखिन्छ ।
गठबन्धनको भविष्य
एमाले–माओवादी लगायत वामपन्थी दलहरूको गठबन्धन कति टिक्छ ? यो ती दलका नेताहरूको व्यवहारमा भर पर्छ । वास्तवमा यो गठबन्धन निर्माण चुनावी कसरत हो । संसदीय प्रणालीमा चुनाव जित्ने कुरा महत्वपूर्ण विषय हो । चुनावमा गठबन्धन बनाएर जाँदा धेरै सिट जित्न सक्ने सम्भावना रहन्छ । त्यसपछि यही गठबन्धनले सरकार बनाउने अवस्था आउने छ । सरकार बनाएपछि आफ्ना नीति तथा कार्यक्रम लागु गर्न पाइन्छ । अहिलेको मुख्य ध्येय भनेको प्रदेश र केन्द्रको चुनावमा बढीभन्दा बढी सफलता प्राप्त गर्ने कुरामा केन्द्रित छ । तर नेपालको राजनीति यहीँका दलहरूको हातमा मात्र पनि छैन । प्रमुख दलका कतिपय नेताहरू सत्ता स्वार्थका लागि भारतीय डिजाइन अनुसार परिचालित हुने गरेका कैयौँ उदाहरणहरू छन् । भारतले नेपालको राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न प्रयास गरी रहेको छ । पछिल्लो देउवा नेतृत्वको सरकार र संविधान संशोधनको प्रयास त्यसैको उदाहरण हो । संविधान घोषणा गर्न नदिन र जारी नै गरेपछि पनि संशोधनद्वारा त्यसलाई आफ्नो अनुकूलको बनाउन भारत कम्मर कसेरै लागेको थियो । अहिले पनि संशोधनको प्रयास जारी छ । संवैधानिक रूपमै तराईलाई पहाडबाट अलग गराउने भारतीय डिजाइन अहिले पनि निरन्तर छ ।
भारतको समर्थन बिना सत्तामा पुग्न सकिदैन भन्ने मानसिकता जति काङ्ग्रेसका नेताहरूमा छ, त्यत्तिकै एमाले र माओवादीमा पनि छ, यद्यपि पछिल्लो समयमा राष्ट्रियताका सन्दर्भमा एमालेले लिदै आएको अडान स्वागतयोग्य छ । अहिले माओवादी केन्द्रले विगतका कमजोरी सच्याएरै वामपन्थी गठबन्धन गर्न चाहेको हो भने त्यो पनि स्वागतयोग्य कदम हो । तर फेरि पनि सत्तामा पुग्नका लागि भारतीय डिजाइन अनुसार यी दलले गठबन्धन भत्काउने प्रयास गरे भने उनीहरूका लागि मात्र घातक हुने छैन । देशका लागि समेत दूरगामी नकारात्मक असर पर्ने छ । त्यस बाहेक उनीहरूले एक–अर्काको सङ्गठन भत्काएर आफू बलियो बन्न खोजेका हुन् भने त्यसले पनि वामपन्थी गठबन्धनको भविष्य लामो हुने छैन
No comments:
Post a Comment