Tuesday, October 3, 2017

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति एकीकरण घोषणा, चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति एकीकरण घोषणा, चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी 


 काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र त्यस लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको हो ।
यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् । पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहनेछन् । समितिले एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुङग्याने छ । साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।  
तीन दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति गरेका छन् । सहमतिमा आगामी चुनावमा प्रत्यक्षतर्फ नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गर्ने उल्लेख छ ।
पार्टी एकीकरण गर्नुभन्दा अघि आआफ्ना बैचारिक धारणा राख्न छुट भए पनि एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना गर्न नपाइने पनि सहमतिमा उल्लेख छ । तीन दलबीच संसदको चुनावमा साझा घोषणापत्र बनाउने सहमति भएको छ । तर, प्रदेशसभामा भने यो बाध्यकारी नभएको नेताहरुले बताएका छन् ।
sahamati-patra-1
sahamati-patra-2
एकता कुनै पार्टी विरुद्ध हैन
एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिले यो एकता देशको हितका लागि भएको भन्दै कुनै पार्टी विरुद्धको षड्यन्त्रको रुपमा नबुझन र नझस्कन आग्रह गरेका छन् ।
सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यो गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएका बताएका हन् । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’ यो एकता अपर्झट र हतारमा नभएको स्पष्ट पार्दै उनले देशको समृद्धिका लागि एउटै कम्युनिष्ट पार्टी आवश्यक रहेको भन्ने बारे पहिले देखि आन्तरिक रुपमा छलफल भैरहेको स्मरण गराएका थिए ।
एमाले अध्यक्ष ओलिले सभालाई सम्बोधन गर्दै देश अब एउटा नयाँ अध्यायमा अघि बढेको बताए । उनले आफूहरुको गठबन्धन कसैका विरुद्ध नभएको भन्दै कोही झस्किनु नपर्ने बताएका छन् ।
प्राविधिक र कानुनी समस्याका कारण अहिले एउटै निर्वाचन चिन्ह हुन नसकेको स्पष्ट पार्दै अध्यक्ष ओलिले नयाँ शक्ति नेपालले भने आउँदो प्रदेश र केन्द्रीय निर्वाचनमै सुर्य चिन्हमा चुनाव लड्ने बताएका छन् । उनले पार्टी नै एउटा बन्ने प्रक्रियामा अघि बढेको हुँदा चुनाव चिन्ह ठूलो बहसको विषय नहुने बताए । अब तीन दलको ध्यान अब समान्य नभई दुई तिहाई बहुमतमा रहेको उनको भनाई थियो । उनले भने साधारण बहुमत ठूलो कुरा होइन । हाम्रो ध्यान दुई तिहाई तिरको छ ।’ देशको २०७४ को जन्मकुण्डलीमा देशभक्त वामपन्थी सरकार बन्न लेखेकाले कसैले पनि मेट्न नसक्ने दावी समेत गरेका छन् ।
उनले आफूहरु छिमेकीसँग सन्तुलित सम्बन्धका पक्षमा रहेको भन्दै संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तबाट एक शब्द तलमाथि नहुने धारणा राखेका छन्  ।  एकीकरणमा सामेल सबै दलका कार्यकर्ताहरुलाई अभियानमा उत्साहित भएर जुट्न अनुरोध गरेका छन् । कसैले केही नछाडेको, राष्ट्रको सार्वभौमसत्ता माथि उठाउन वामपन्थिहरु बीचको एकता अनिवार्य भएको स्पष्ट पार्दै उनले अन्य सबै बाम पार्टीहरुलाई पनि एकतामा सहभागी हुन आह्वान गरेका छन् ।
सो अवसरमा नेकपा एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
माओवादीले धोखा दियो – नेका
सत्ता रुढ दल माआवोदी केन्द्रले प्रमुख विपक्षी एमालेसँग एकता घोषणा गरेर आफूलाई धोखा दिएको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको निष्कर्ष निकालेको हो । कांग्रेसको उक्त बैठकले पनि आगामी निर्वाचनमा अन्य लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment