Monday, April 17, 2023
नयाँ बर्षको स्वागत गर्ने नयाँ र्शैली : रक्तदान
काठमाडौँमा रक्तदान गरी यूवाहरुले नयाँ बर्ष मनाएका छन् । बैशाख एक गते शुक्रबार रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा काठमाडौँमा १४० जनाले रक्तदान गरेका हुन् । उत्सव मनाउने एउटा अव्वल तरीका रक्तदान हो भन्ने धारणा बढ्दै गएकोमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले खुशी व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिंगदेनले थापागाउँ बानेश्वरमा युवा संगठनको आयोजनामा भएको रक्तदानमा आज बैशाख १ गते विहान ८ बजे पहिलो रक्तदान गर्नुभएको थियो । यूवाहरुले नियमित रक्तदान गरुन् र नयाँ यूवाहरुपनि यसमा आकर्षित होऊन भन्ने मेरो अभिलाशा रहेकोले आफूले ८४ पटकको रक्तदान गरेको उहाँले बताउनुभयो ।
रिडिङ रुम फाउण्डेसनले मध्य बानेश्वरमा, श्वेता रक्तदान अभियानले बसन्तपुरमा र शान्तिज्ञान सत्संग भजन मण्डलले डिल्लीबजारमा पनि युवा लक्षित रक्तदान कार्यक्रम आयोजना गरेका थिए । टोखाको चण्डेश्वरी मन्दिरमा नयाँबर्ष मनाउन गएका ३५ बर्षिय ज्ञानेश पौडेलले त्यही नजीकै आयोजित शिविरमा रक्तदान गर्नुभयो । दान गरी नयाँ वर्ष सुरु गर्न राम्रो हुने सम्झेर रक्तदान जस्तो महादान गरेको ज्ञानेशको भनाई थियो ।
आज र भोली नयाँ वर्षको उपलक्ष्यमा उपत्यका र उपत्यका बाहिर रक्तदानका कार्यक्रम आयोजना भइरहेका रेडक्रसका प्रादेशिक र जिल्ला रक्तसञ्चार सेवाहरुले बताएका छन् । तर ती सहज रगत आपूर्तिमा अझै अपर्याप्त रहेका छन् । तराईमा अहिले चैत्र, बैशाखमा राम्रैसँग संकलन सेडुल भएपनि गर्मी बढेसँगै रक्तदानमा कमी हुनसक्ने चितवन, विराटनगर, धनगढी र नेपालगञ्जका रेडक्रस रक्तसञ्चार इन्चार्जहरुले चिन्ता व्यक्त गरेका छन् । लहान, सिरहामा रक्तदान बढाउन सञ्चार माध्यमबाट यूवा लक्षित प्रचारात्मक र अनुरोधात्मक अभियान सुरु गरिसकेको इन्चार्ज मनिष यादवले जानकारी दिनुभएको छ ।
धादिङमा रक्त अभियान सञ्चालन गरिरहेका नारायण श्रेष्ठले विरामीलाई भेट्न जाँदा एक किलो स्याऊ लिएर मुख देखाउन जानभन्दा आवश्यक परे रक्तदान गर्न तयार भएर यूवाहरु जानुपर्ने र त्यसले रगतको अभाव परिपूर्ति गर्न मद्यत पुग्ने बताउनुभयो ।
नेपालको कूल रक्तदातामध्ये १८ देखि ३० बर्षको उमेर समूहमा पचास प्रतिशत, ३१ देखि ४० वर्ष उमेर समूहका २९ प्रतिशत रहेकाले रगतको परिपूर्ति गर्न मुख्य देन यूवाहरुको नै रहेको तथा उनीहरुलाई थप उत्प्रेरित गर्नुपर्ने आवश्यकतामा निर्देशक पौडेलले जोड दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment