नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
Email : ncpmashal@gmail.com
वक्तव्य
सर्वप्रथम नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सप्तरीको तिलाठीका देवनारायण यादव र उनका छोरा समेतलाई सीमावर्ती भारतीय सशस्त्र बलद्वारा गिरफ्तारीको विरोध गर्दै उनीहरूको शीघ्र रिहाइको माग गर्दछ । त्यसका लागि कुटनीतिक स्तरमा पहल गर्न सरकारसित पनि माग गर्दछ ।
यो उल्लेखनीय छ कि तिलाठीमा भारतीय पक्षद्वारा सीमाको अतिक्रमण हुँदा देवनारायण यादवको नेतृत्वमा त्यहाँका जनताले सशक्त प्रकारले प्रतिरोध गरेका थिए । त्यो एउटा मात्र घटनाबाट पनि तराइका मधेशी, थारु सहित सम्पूर्ण जनता देशभक्त छन् र उनीहरू देशमाथि कुनै विदेशी अतिक्रमण वा राष्ट्रिय विखण्डनका विरुद्ध छन् भन्ने कुरा प्रष्ट भएको थियो । त्यो भारतीय सीमा अतिक्रमणको सशक्त विरोध गरेको हुनाले नै अहिले देवनारायण यादव र उनका छोरा समेतलाई विभिन्न वहानामा गिरफ्तार गर्ने काम गरिएको छ । त्यसकारण भारतीय सशस्त्र बलको त्यस प्रकारको व्यवहारको विरुद्ध आवाज उठाउन हाम्रो पार्टीले सम्पूर्ण नेपाली देशभक्त जनतासित अपील गर्दछ ।
हिजो असोज १७ गते नेकपा(एमाले), माओवादी (केन्द्र) र नयाँ शक्ति समेतको एकीकरण घोषणा गरिएको छ । पार्टी एकीकरणको लागि संयोजक समितिको गठन गरिएको छ भने आगामी प्रादेशिक र संसदीय चुनावमा तालमेल गरेर जाने बताइएको छ । उनीहरूको त्यस प्रकारको कदमलाई हाम्रो पार्टीले सामान्यतः सकारात्मक रूपमा लिन्छ र स्वागत गर्दछ । उनीहरूमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुन्थ्यो । त्यसैले त्यो दिशामा उठाइएको उनीहरूको कदमलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।
यस सन्दर्भमा हामीले एउटा कुरा प्रारम्भमा नै स्पष्ट गर्न चाहन्छौँ । त्यो एकीकरणले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत पुराउने छैन र त्यो वास्तवमा कम्युनिष्टहरूको एकीकरण पनि होइन । किनभने त्यो एकीकरणमा सामेल भएका सबै पक्षहरूको माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट विचलन भैसकेको छ र उनीहरूले दक्षिणपन्थी दिशा लिएका छन् । त्यो अवस्थामा त्यसले क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माणमा मद्दत पुराउने कुराको आशा गर्न सकिन्न । तर त्यो विषयमा बेग्लै सैद्धान्तिक छलफल चलाउने विचारलाई सुरक्षित राख्दै देशको अहिलेको राजनीतिक स्थितिमा त्यो एकीकरणले सकारात्मक महत्व राख्दछ भन्ने हाम्रो मत छ ।
ओली नेतृत्वको सरकारबाट हटेर माओवादी केन्द्रले नेपाली काङ्ग्रेससित मिलेर गठबन्धन सरकारको निर्माण गर्ने जुन कार्य गर्यो, त्यो उनको गम्भीर प्रकारको गल्ती थियो । हामीले त्यो बेला नै त्यसको आलोचना गरेका थियौँ र त्यस प्रकारको कदमबारे पुनर्विचार गर्न प्रचण्डलाई सुझाव दिएका थियौँ । त्यस प्रकारको गठबन्धन सरकारले दोस्रो संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्नुका साथै राष्ट्रियतामा आँच पुग्ने अरू कैयौँ गल्तीहरू गरेको थियो । यो आम रूपमा थाहा भएको कुरा हो कि त्यो गठबन्धन सरकारको गठन भारतीय डिजाइनमा भारतीय विस्तारवादी उद्देश्यहरू पुरा गर्नका लागि बनेको थियो । अहिले माओवादी केन्द्र त्यो गठबन्धन सरकारबाट हटि नसकेको भएपनि त्यसले एमालेसहित सित एकीकरणको लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम हो ।
महाकाली सन्धी, पहाडि भूभागबाट पूरै अलग गरेर २ नम्बर प्रदेशको निर्माण, प्रथम संविधान संशोधन विधेयकमा मुख्यतः जनसङ्ख्यालाई आधार बनाएर निर्वाचन क्षेत्रको निर्धारण आदि समेत विषयमा ओलीले गम्भीर प्रकारका गल्तीहरू गरेको भएपनि आफ्नो प्रधानमन्त्रीको कार्यकालमा उनले नेपालको राष्ट्रियता र राष्ट्रिय हितका पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । भारतीय विस्तारवादी दबाबका विरुद्ध उनले लिएको अडान वा पारवहन सम्झौता सहित चीनसितको सम्बन्धको विस्तारमा उनले गरेका सन्धी सम्झौताहरू पनि राष्ट्रिय हितका पक्षमा नै थिए । उनका त्यस प्रकारका कार्यहरूलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गरेको थियो । अब एमाले र माओवादीहरूको बिचमा एकीकरणका सन्दर्भमा प्रचण्डले राष्ट्रियताको प्रश्नबारे ओलीले लिएको अडानको अनुकरण गर्ने हुन् वा ओलीले प्रचण्डले गठबन्धन सरकारको दौरानमा अपनाएका भारतपरस्त नीतिहरूको अनुकरण गर्ने हुन् ? यसबारे उनीहरूका बीचमा कुन प्रकारको सहमति भएको छ र आगामी दिनहरूमा उनीहरूले कुन प्रकारको नीतिको अनुकरण गर्ने हुन् ? त्यो कुराले उनीहरूको एकीकरण राष्ट्रियता र राष्ट्रिय हितका पक्षमा हुनेछ वा छैन ? त्यो कुराको निर्धारण गर्नेछ । तर हाम्रो शुभकामना छ, उनीहरूको एकीकरण गणतन्त्र, राष्ट्रिय हित, धर्मनिरपेक्षता समेतका पक्षमा होस् । कम्युनिष्ट आन्दोलनसित जोडिएका आधारभूत प्रश्नहरूमा हाम्रो उनीहरूसित मतभेद भएता पनि ती प्रश्नहरूमा उनीहरूसितको सैद्धान्तिक सङ्घर्षलाई आवश्यकता अनुसार र बेग्लै चलाउँदैमाथि उल्लेखित विषयहरूमा उनीहरूले अपनाउने सकारात्मक नीतिहरूलाई समर्थन गर्ने र आवश्यकता अनुसार कार्यगत एकता गर्ने हाम्रो नीति हुनेछ ।
आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसित तालमेलको हाम्रो नीति खुला छ । निश्चय नै कहाँ को सित कति तालमेल हुनेछ वा छैन ? त्यो कुरा पारस्पारिक समझ्दारीमाथि नै निर्भर हुने कुरा हो । त्यस प्रकारको तालमेलको नीति राष्ट्रिय स्तरमा नै निर्धारित हुनेछ तर कुन ठाउँमा तालमेल हुने वा नहुने ? त्यो कुरा बेग्लाबेग्लै स्थानहरूको पारस्पारिक स्थिति र सहमति अनुसार नै निर्धारित हुनेछ । कुनै स्थानमा तालमेलको समझ्दारी भएमा त्यो समझ्दारी अनुसार नै हामीले एक अर्कालाई समर्थन गर्ने नीति अपनाउने छौँ । तालमेल हुन नसकेका स्थानहरूमा एक्लै नै चुनाव लड्ने नीति अपनाउने छौँ ।
चुनावी तालमेलको सन्दर्भमा हामीले यो कुरा स्पष्ट गर्न चाहन्छौँ कि तत्काल हामीले संसद वा चुनावलाई उपयोग गर्ने नीति अपनाएका छौँ । तर हाम्रा लागि त्यो प्रधान पक्ष होइन । तात्कालिक रूपमा प्रधान पक्ष जनआन्दोलन नै हो । संसद वा चुनाव त्यसको एउटा अङ्ग मात्र हो । संसदभित्र पहिले पनि हाम्रो स्थिति कमजोर रहने गरेको छ । तैपनि हामीले पार्टीका नीति र जनआन्दोलनलाई लगातार अगाडि बढाउने नीति अपनाउँदै आएका छौँ । चुनावमा जनताको बढीभन्दा बढी समर्थन प्राप्त गर्न र बढीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा विजय प्राप्त गर्न हामीले पूरा प्रयत्न गर्नेछौँ । तर चुनावमा हुने अराजनीतिक गतिविधि र पैसाको चलखेलले त्यसलाई व्यापक रूपले प्रभावित गर्ने गरेका छन् । र आगामी चुनावहरूमा पनि त्यो सम्भावना प्रशस्त छ । गत स्थानीय चुनावमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावशाली भूमिका खेल्न नसकेको वास्तविकतामाथि ध्यान दिंदा आगामी चुनावहरूमा पनि त्यो खतरा अरू बढेर जाने सम्भावना छ । तैपनि हाम्रो प्रधान पक्ष जनआन्दोलन नै भएको हुनाले चुनावमा सफलता मिले पनि वा नमिले पनि त्यसले हाम्रो जनआन्दोलनको नीतिमा कुनै अन्तर ल्याउने छैन । जुनसुकै अवस्थामा पनि आफ्नो राजनीतिक लाइन अनुसार जनआन्दोलनलाई देशव्यापी रूपमा अगाडि बढाउन हामीले पूरा प्रयत्न गर्नेछौँ ।
जुन पार्टीहरूका लागि संसद वा चुनाव प्रधान पक्ष हुन्छ, उनीहरू चुनावमा सन्तोषजनक परिणाम प्राप्त हुन नसकेमा निराश हुने वा विसर्जन पनि हुने स्थिति पैदा हुन सक्दछ । तर हाम्रा बारेमा त्यो कुरा लागू हुँदैन र चुनावमा जुनसुकै प्रकारको परिणाम आएपनि आफ्नो सङ्घर्षलाई लगातार अगाडि बढाउने हाम्रो नीति हुनेछ ।
माओवादी केन्द्र र एमाले समेतले एकीकरणका दिशामा उठाएको कदमबाट आगामी चुनावमा नेकालाई काफी धक्का पुग्ने कुरा प्रष्ट छ र त्यसले निश्चित रूपले नेपालको राजनीतिमा पनि सकारात्मक योगदान दिनेछ । स्थितिमा शेरबहादुर देउवाले जनतन्त्र र गणतन्त्र वा राष्ट्रियतामा नै आघात पुग्ने प्रकारका कुनै कदम उठाउने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । गतकालमा उनले राजासित मिलेर संसदीय प्रणालीलाई समाप्त गर्न बारम्बार प्रयत्न गरेको पृष्ठभूमिमाथि ध्यान दिंदा अहिले माओवादी र एमालेका बीचको एकीकरणका सन्दर्भमा आफ्नो अस्तित्वको रक्षाका लागि त्यही प्रकारको कुनै कदम उठाउने सम्भावना प्रति पनि उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जनतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता पक्षधर सबै शक्तिहरूको ध्यान आकर्षित गर्न चाहन्छ । खास गरेर आफ्नो अस्तित्वको रक्षाका लागि उनले एकातिर देशभित्रका प्रतिगामी शक्तिहरू र अर्कातिर भारतीय विस्तारवादको आड लिएर जनतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताका विरुद्ध प्रहार गर्ने खतराको सामना गर्न व्यापक राष्ट्रिय एकताको निर्माणका लागि सम्बन्धित सबै पक्षहरूसित अपील गर्दछ ।
मिति ः २०७४ असोज १८ गते
मोहनविक्रम सिंह
महामन्त्री

No comments:
Post a Comment