मानव मुक्ति र त्यसका लागि सङ्घर्ष
दुर्गानाथ खरेल
हामीले धेरै पटक मुक्तिका कुरा गर्छौँ र सुन्छौँ पनि तर मुक्तिका बारेमा हामी स्पष्ट भएका हुन्नैँ । हाम्रो मुक्ति कहिले आउँछ र हामी मुक्त हुन्छौँ । यस विषयमा हामीले छलफल र अध्ययन गर्न जरुरी छ । मुक्त हुनु भनेको हाम्रा जल्दाबल्दा समस्याहरू खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारका समस्याहरू सजिलो गरी समाधान भएको अवस्था हो । ती सबैै समस्याहरू व्यक्तिगत प्रयत्नबाट मात्र समाधान हुने खालका छैनन् । सामूहिक प्रयत्न आवश्यक पर्ने प्रकारका छन् । सामूहिक प्रयत्न पनि भई रहेका छन् र धेरै पहिलेदेखि यी समस्याहरूका बारेमा चिन्तन, मनन र व्यवाहारिक प्रयोग समेत हुने गरेका छन् । तर तिनीहरूले सृजना गरेका समस्याहरू सरल किसिमका र सजिलै समाधान निस्कन सक्ने खालका भने छैनन् । ती समस्याहरूको समाधान गर्ने काम सरलबाट जटिल र निम्न स्तरबाट उच्च स्तरतिर अगाडि बढी रहेका छन् । त्यसको समाधान गर्ने प्रयत्न उच्च स्तरको सिद्धान्तको व्यावहारिक प्रयोग र सामूहिक प्रयत्नको लागि सबै सचेत बन्नु पर्ने खाँचो छ । यी सामाजिक समस्याहरूको समाधान समाज विकासको अवस्था अनुसारका उपायहरू निकालेर समाधान गर्ने गरिएको भएता पनि ती समस्याहरू बढी जटिल र उच्च स्तरको बौद्धिक क्षमताको माग गर्दै अघि बढेका छन् । ती समस्याहरूले मानव समाजमा परस्पर विरोधी वर्गका आधारमा विरोध बढाउने गरी व्यक्तिगत प्रकृतिको तरिका प्रयोग गरेर अगाडि बढाएका छन् । त्यसले गर्दा एकातिर, सुविधैसुविधा र अधिकारको केन्द्रीकरण र अर्कातिर, अभावै अभाव र कर्तव्यको केन्द्रीकरण भएको अवस्था तयार पारिएका छन् । यी समस्याहरूका कारणले मुक्तिका कुरा वर्गीय अधिकार र वर्गीय कर्तव्य दुवैको समाधान शान्तिपूर्ण तरिकाबाट हुन नसक्ने र समाधान गर्न सङ्घर्षको तरिका अपनाउन बाध्यताको अवस्था सृजना भएको छ । सामाजिक रूपमा सबैको मुक्ति हुनमा बाधा पार्ने सामाजिक वर्गको विरोधी स्वार्थ भएको हुनाले वर्गीय रूपमा सचेत, सङ्गठित र अनुशासित भई आफ्नो वर्गको मुक्तिका लागि वर्गीय अधिनायकत्व स्थापित गर्नु पर्ने र सङ्घर्ष गर्दै गरेर व्यक्तिगत सम्पत्तिका कारणले भएको सम्पन्न वर्ग समाप्त पारी सामूहिक स्वार्थको लागि काम सबैले गर्न पर्ने अवस्थाको विकास गर्नु मुक्ति सङ्घर्षको अपरिहार्य तरिका बन्न गएको छ ।
मान्छे बौद्धिक श्रम गर्न सक्ने उच्च स्तरको जीव हो । समाज विकासको सुरु अवस्थामा मान्छेको बौद्धिक उत्पादन थोरै थिए । समय बित्दै जाँदा बौद्धिक उत्पादनको मात्रा र गुणस्तर समेत थपिदै गए । प्रकृतिका विरुद्ध सङ्घर्ष गरेर मानव मात्रको पक्षमा उपयोग गर्न सकिने बौद्धिक उत्पादन बढ्दै जाँदा मानवले धेरै उपलब्धि हासिल गर्न सफल भयो । मानव समाजको बौद्धिक उत्पादनलाई प्रयोग गर्ने सिलसिलामा वर्गीय हैसियत समेतको व्यवस्था गरिएको हुनाले समानुपातिक रूपमा उपयोग र प्रयोग हुन पाएन । एकातिर, सम्पन्न वर्ग र अर्कातिर, विपन्न वर्गको व्यवस्था गरियो । त्यसले गर्दा सम्पन्नता र विपन्नताको परस्पर विरोधी स्वरूपबीच मानव समाजले प्रकृति विरुद्ध सङ्घर्ष गरेर प्राप्त उपलब्धि वर्ग र वर्गीय हैसियत अनुसार प्रयोग गर्न पाउने र गर्न सक्ने नियमका आधारमा विरोधी चरित्र धेरै फराकिलो भयो । सबै मान्छे मिलेर संयुक्त रूपमा प्रकृतिका विरुद्ध सङ्घर्ष गरेर सुविधा सबैले उपभोग गर्न पाउने ठाउँमा एउटा वर्गका मान्छेले अर्को वर्गका मानिसलाई अझै श्रमजीवी वर्गलाई शोषण गरेर सुविधा उपभोग गर्ने व्यवस्थाका कारणले मानव मुक्तिमा बाधा पुराउने काम भयो । त्यसैले शोषणमा परेका श्रमजीवी वर्ग आपसमा सचेत, सङ्गठित र अनुशासित भई विरोधी वर्गमाथि अधिनायकत्व लागु गर्न सबैभन्दा बढी शोषणमा परेका सर्वहारा वर्गलाई अधिनायकत्व लागु गर्नुमा नेतृत्व गर्ने जिम्मा लगाउनु पर्ने भएको छ । त्यो अधिनायकत्व समानताका लागि र सबैको मुक्तिका लागि हो । वर्गमा विभाजित मानव समाजलाई वर्गीय चरित्र र वर्गीय शोषण समाप्त पारी वर्गविहीन र शोषणविहीन समाज निर्माणका लागि हो । तर त्यो काम छिट्टै र सजिलै सम्पन्न हुन सक्दैन । त्यसका लागि लामो सङ्क्रमण कालको अवधि पार गर्नु पर्छ । वर्तमान समाजको व्यक्तिहरूको नसानसामा व्यक्तिगत सम्पत्ति थप्न र शोषण बढाउने चरित्रको सञ्चार भई रहेको छ । त्यसको स्थानमा सामूहिक स्वामित्व र सामूहिक अनुशासनको सञ्चार गराउन सर्वहारा वर्गीय चरित्रको डण्डाले निम्न पँुजीवादी अवसरवादी चरित्रलाई हिर्काई रहनु पर्छ । लामो समय र धेरै पुस्तासम्म अभ्यास भई रहेको हुनाले वर्गसङ्घर्ष पनि धेरै समयसम्म चलाई रहनु पर्छ ।
समाजमा भएका वर्गीय चरित्रको परस्पर विरोधी ज्ञान विपन्न वर्गमाभन्दा सम्पन्न वर्गमा शक्तिशाली भएको मात्र होइन, सम्पन्न वर्गीय चरित्रले विपन्न वर्गका व्यक्तिहरूलाई दिक्षित बनाएका छन् । सम्पन्न वर्गमाभन्दा विपन्न वर्गमा अझै बढी सम्पन्न वर्गीय चरित्रको सञ्चार भएको छ । भौतिक रूपमा विपन्न छन् तर चिन्तनका हिसाबले र प्रयत्नका हिसाबले उनीहरूमा सम्पन्न वर्गीय चरित्र शक्तिशाली भई आसन जमाएको छ । त्यही कारणले गर्दा सम्पन्न वर्गले शोषणका जञ्जिर कस्न सजिलो भएको छ । विरोधी वर्गको विश्व दृष्टिकोण भिरेर शोषित वर्ग शोषणमा बलियोसँग बाधिएका छन् । त्यति मात्र होइन, विरोधी वर्गको शोषणबाट हैरानी भएर त्यसको बदलामा आफ्नो वर्गका व्यक्तिमाथि शोषण, जालझेल र बेइमानी प्रयोग गरेर आपसमा सचेत, सङ्गठित र अनुशासित हुने कामलाई झन् टाढा पुर्याएका छन् । त्यो भनेको मुक्ति सङ्घर्षलाई कमजोर पारेर शोषणको आयु लामो बनाउने काम हो । सम्पन्न वर्गका व्यक्तिहरू सङ्ख्यामा थोरै छन् । श्रमजीवी वर्गका व्यक्तिहरूको सङ्ख्या धेरै गुणा बढी छ । आफूहरू सङ्ख्यामा धेरै भएर पनि वर्गीय चरित्र र वर्गीय सङ्गठन तथा वर्गीय विश्व दृष्टिकोण विकास गर्न नसकेका कारणले शोषणको जातो धेरै पुस्तासम्म भिरि रहनु परेको छ । समाज विकासको क्रममा धेरै व्यवस्था समाप्त भई सकेको र नयाँ व्यवस्था आउने गरेको भए पनि शाोषण झन्पछि झन् व्यवस्थित र शक्तिशाली भएको छ । त्यस्तो हुनाको कारण श्रमजीवी वर्गका व्यक्तिहरू सम्पन्न वर्गको चरित्र सहीत काम गर्ने भएको हुनाले शोषणमा पर्ने भएको छ । अन्याय र शोषणमा आफू परेको कुरा आफैलाई महशुस नभएसम्म त्यसको विरुद्ध सङ्घर्ष गर्ने काम हुन सक्दैन, बरु शोषणको पक्षमा काम भई रहेको हुन्छ । समाजमा भएको विरोधी वर्गको भौतिक अवस्था वैचारिक रूपमा प्रकट हुन्छ । त्यसै अनुसार वैचारिक सङ्घर्ष हुने गर्छ । वैचारिक सङ्घर्ष राजनैतिक सङ्घर्षको पहिलो अवस्थामा, राजनैतिक सङ्घर्षको समयमा र सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरेको अवस्था समेत भई रहन्छ । सुरुमा राजनैतिक सङ्घर्षको उठान गर्न, राजनैतिक सङ्घर्षको समयमा सङ्घर्षलाई व्यवस्थित बनाउन र राज्यसत्ता कब्जा भएपछि प्रतिगमनबाट जोगाई राख्न तीन वटै अवस्थामा वैचारिक सङ्घर्षको उपयोग र महत्व समेत हुन्छ । वर्गसङ्घर्षको मुख्य रूप राजनैतिक सङ्घर्ष र सहयोगी रूप आर्थिक र वैचारिक रूप भए पनि राजनैतिक सङ्घर्षको उठान गर्न, सञ्चालन गर्न र व्यवस्थित बनाउँदै प्रतिगमनबाट जोगाउन वैचारिक सङ्घर्षको पनि उच्च महत्व हुन्छ ।
मुक्तिका लागि गरिने सङ्घर्ष दुई प्रकारको हुन्छ । पहिलो सङ्घर्ष प्रकृतिका विरुद्ध गर्नु पर्छ । त्यो काम समाजका सबै व्यक्तिहरूले आपसमा मिलेर गर्ने सङ्घर्ष हो । घर बनाएर पानी, बतास, चर्को घाम, जाडो आदिबाट बच्न गरिने काम सबैको चासो, आवश्यकता र जिम्मेवारीको काम हो । अन्य उत्पादनमा पनि सबै मिलेर संयुक्त परिश्रमबाट मात्र सबैको आवश्यकताका काम पुरा गर्न सकिन्छ । दोश्रो सङ्घर्षको काम मान्छेले मान्छेलाई शोषण गरेर सम्पन्नता हासिल गर्ने कामका विरुद्ध समानताका लागि गरिने र गर्न पर्ने काम वर्गसङ्घर्षको काम हो । वस्तु उत्पादन गर्न सबैले काम गर्नु पर्ने तर उपभोग गर्ने समयमा सम्पन्न वर्गका लागि सुविधैसुविधा र विपन्न वर्गका लागि अभावै अभाव हुने गरी जुन वर्गीय भिन्नता बनाइएको छ, त्यसका विरुद्ध वर्गीय मुक्तिका लागि वर्गसङ्घर्ष चलाउन आवश्यक छ । त्यो काम शोषित, उत्पीडित वर्गको व्यक्तिहरू आपसमा अनुशासित र सङ्गठित भई शोषक वर्गका विरुद्ध सङ्घर्ष गर्ने काम हो । यो काम वर्गविहीन र शोषणविहीन समाज निर्माण गर्ने उद्देश्यका साथ गर्ने काम हो । यो काममा बाधा पार्ने व्यक्तिगत स्वामित्वमा दर्ता भएका उत्पादनका साधनहरू हुन् । उत्पादन सामूहिक प्रयत्नबाट मात्र पुरा हुने तर उत्पादनका साधनहरू व्यक्तिका नाममा दर्ता हुने व्यवस्था भएको हुनाले श्रमजीवी वर्ग शोषणमा परी रहने अवस्था छ । त्यसको दोष सम्पत्तिलाई होइन, व्यवस्थालाई दिन सक्नु पर्छ । एउटा खराब व्यवस्थालाई हटाउन अर्को असल व्यवस्था हुन जरुरी पर्छ । असल व्यवस्थाले खराब व्यवस्थालाई विस्थापन गर्ने हो । तर त्यो काम सजिलै र एकै पुस्तामा सम्पन्न गर्न सकिन्न । जीवन भरको र धेरै पुस्तासम्म लगातार लागेर पुरा गर्ने रणनीतिक योजनाको मातहतमा छोटा छोटा कार्यनीतिक योजना बनाएर सञ्चालन गर्दै जानु पर्छ । योजनालाई व्यवहारमा प्रयोग गर्दै जाँदा आफ्नो वर्गविहीन समाज निर्माणको पक्षमा रणनीतिक योजनालाई सहयोग पुगेर अवधि छोटो हुँदै गएको हुनलाई त्यसै अनुसार मूल्याङ्कन गरेर नीति स्पष्ट हुनु पर्छ । रणनीतिक योजनाको विरुद्धमा मूल्याङ्कन हुने गरी गतिविधि सञ्चालन हुनु हुन्न ।
शोषित, उत्पीडित वर्गका व्यक्तिहरूले सम्पन्न व्यक्ति सरह आफ्नो सम्पन्नताको तरिका प्रयोग गरेका कारणले मुक्तिको पक्षमा बढी काम हुन नसकेको हो । वर्ग फरक परेपछि मुक्तिको बाटो विपरीत दिशामा विभाजित हुन्छ । ती विरोधी दिशामध्ये आफ्नो गन्तव्यको सही दिशा पक्रेर अगाडि बढ्ने हो भने मात्र मुक्त हुन सकिन्छ अथवा मुक्तिको बाटोले नजिक पुर्याउन सक्छ । तर समाजमा त्यस्तो गरेको देखिन्न । सम्पन्न वर्गका व्यक्तिहरूले आफ्नो सम्पन्नता कायम गर्न जुन तरिका प्रयोग गरी रहेका हुन्छन्, त्यही तरिका विपन्न वर्गका व्यक्तिहरूले पनि प्रयोग गरेका काणले विपन्न वर्गका व्यक्तिहरूले अहिले उत्पीडन व्यर्होनु परेको र भविष्यका लागि पनि मुक्तिको बाटोमा तगारो हाल्ने काम भएको छ । मित्रता गर्नु पर्ने वर्गसँग मित्रता र सहकार्य नगर्ने तथा शत्रुता कायम गर्नु पर्ने वर्ग दुश्मनसित एकता र मित्रताको प्रयत्न गर्दा वर्गीय मुक्तिको विपक्षमा काम भई रहेको छ । श्रम बेचेर आवश्यकता पुरा गर्नु पर्नेहरूले श्रम किनेर नाफा कमाउनेहरूका विरुद्ध अनुशासित मोर्चाबन्दी नगरेसम्म स्थितिमा सुधार आउन्न । जब पँुजी सामूहिक प्रयत्नको उपज हो भने त्यसलाई सामूहिक स्वामित्वमा स्थापित गराउन आफ्नो प्रयत्न सकारात्मक हुनै पर्छ । तर त्यसका विपरीत व्यक्तिगत स्वामित्वमा उत्पादनका साधनहरू दर्ता गराउने काममा श्रमजीवी व्यक्तिहरूको नै योगदान भएको हुनाले आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने काम भएको छ । आफ्नो थोरै योगदान भए पनि उत्पादनका साधनहरूलाई सामूहिक स्वामित्व स्थापित गराउन थपियो भने मात्रै सही दिशातिर योगदान थपिने छ । त्यही नभएको हुनाले स्थ्तििमा झन् प्रतिकूलता थपिदै अगाडि बढेको अवस्था छ । व्यक्तिगत सम्पत्ति थपेर सुविधासम्पन्न हुने अभ्यास लामो समयदेखि हुँदै आएको हुनाले त्यसको विरुद्धमा जान सर्वसाधारण जनताका लागि कठिन हुने भए पनि सचेत र आफूलाई प्रगतिशील भन्नेहरूबाट पनि त्यो काम अगाडि बढ्न नसकेका हुनाले सही दिशातिर गतिशील भई काम हुन नसकेको हो ।
राज्यसत्तामा आफ्नो कब्जा जमाएर सम्पन्न वर्गका व्यक्तिहरूले उत्पादनका साधनहरू आफ्नो व्यक्तिगत स्वामित्वमा दर्ता गर्ने र श्रमजीवीहरूलाई आफ्नो मातहतमा उत्पादन कार्यमा सहभागी बनाएर शोषण गर्ने काम गर्दै आएका छन् । राज्यसत्ता ठुलो सङ्गठित शक्ति हो । त्यो सङ्गठित शक्ति सम्पूर्ण देशको जनसङ्ख्याको तुलनामा एक प्रतिशतभन्दा बढी नभए पनि सर्वसाधारण जनताले सत्तासिन व्यक्तिहरूलाई आफ्नो नेता मान्ने र आफूलाई सत्ताका पक्षपाति मानेर आफ्ना गतिविधि सञ्चालन गर्ने हुनाले राज्यसत्ताको विरुद्धमा सङ्गठित र अनुशासित व्यक्तिहरूको सङ्गठित प्रयत्नले जनताको विश्वास जित्न सक्ने हो भने मात्र क्रान्तिको आधार तयार पार्न सकिन्छ । त्यसका लागि क्रान्तिकारी व्यक्तिहरूले निश्चित उद्देश्य सहित सचेत र सङ्गठित भई अनुशासित रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै जनताका बीचमा राज्यसत्ताको वैकल्पिक शक्तिको रूपमा जनताका बीच आफ्नो अस्तित्व बचाएर फरक पहिचानका साथ आफ्ना गतिविधि सञ्चालन गर्न सक्नु पर्छ । इतिहासका निर्माता जनता भए पनि क्रान्तिकारी पार्टीको नेतृत्वमा गोलबन्द भएर मात्रै वैकल्पिक सत्ता सञ्चालन गर्दै त्यसको क्षेत्र विस्तार गरेर राज्यसत्ता कब्जा गर्ने र सञ्चालन गर्न सक्ने अवस्थामा पुगिन्छ । सर्वहारा वर्गको नेतृत्व र मजदुर किसानको अधिनायकत्वमा गोलबन्द भई जनताले राज्यसत्तामा आफ्नो पहुँच पुर्याउन सक्छन् । राज्यसत्तामा आमूल परिवर्तन नगरिकन मजदुर किसानको पहुँच पुग्न सक्दैन र राज्यसत्ता अडाउने काममा मुख्य भूमिका सेनाको नै हुने हुनाले जनसेना गठन गरेर परम्परागत राज्यसत्ताका सेनालाई जित्न सक्नु पर्छ । त्यसका लागि कम्युनिस्ट पार्टीको अगुवाइमा शान्तिपूर्ण आन्दोलनको अभ्यास गर्दै गर्दा जनआन्दोलन चर्कोको बेलामा जनताले दिएको सहयोग र समर्थनबाट सेनाको विस्तार गरेर कम्युनिस्ट पार्टीले राज्यसत्तामा कब्जा जमाउन सक्छ । कम्युनिस्ट पार्टी भनेकै मजदुर र किसान तथा उनीहरूका सम्मानित प्रतिनिधिहरूको संस्था हो । पँुजीवादको अवसरवादी चरित्रका कारणले कम्युनिस्ट पार्टी नाम राखेर आफ्ना अवसरवादी स्वार्थमा काम गर्ने बुर्जुवा नेतृत्व भएका कारणले कम्युनिस्ट पार्टीलाई सस्तो र ठगी खाने भाँडो बनाएका छन् । त्यस्तो अवसरवादलाई क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी उद्देश्य र त्यसको व्यवहारमा प्रयोग गरेर विस्थापित नगर्दासम्म झुटोले साँचोको स्थान ओगटेर साँचोलाई झुटोको स्थानमा राख्ने कामले प्रोत्साहन पाई रहने छ ।
मानव मुक्ति वर्गीय स्वार्थबाट प्रेरित भई सङ्गठित भएका क्रान्तिकारीहरूको सामूहिक प्रयत्नबाट सुरु भै परम्परागत राज्यसत्तामा आमूल परिवर्तन गर्दै सबैभन्दा शोषित, उत्पीडित सर्वहारा मजदुरको नेतृत्वमा गठन भएको सङ्गठित प्रयत्नबाट मात्र सम्भव हुने काम हो । कम्युनिस्ट पार्टीको काम उत्पादनका साधनहरूलाई सामूहिक स्वामित्वमा दर्ता गराउनेबाट सुरु भएर सबै मान्छेहरूले आपसमा मायाप्रेमका साथ प्रकृति विरुद्धको सङ्घर्षलाई उच्च पार्दै योग्यता अनुसार काम गर्ने र आवश्यकता अनुसार दाम लिएर सबैको समस्या समाधान हुने अवस्थाबाट अघि बढ्छ । वर्तमान वर्गीय समाजमा आमूल परिवर्तन गरेर राज्यसत्तामा मजदुर किसानहरूको सजिलै पहँुच र उनीहरूको प्रयत्नबाट नियम, कानुन बनाउँदै राज्यसत्तामा वर्गीय अधिनायकत्व लागु गरेर वर्गविहीन र शोषणविहीन मानव समाज निर्माण गर्ने उद्देश्य सहित सम्पूर्ण गतिविधि अगाडि बढाउँदै लगेपछि मात्र दिशा निश्चित हुने छ । तर लामो समयदेखि व्यक्तिगत सम्पत्ति र शोषणमा अभ्यस्त भएको समाजलाई विपरीत दिशामा गतिशील बनाउने र त्यसलाई निरन्तरता दिने काम सजिलो र छिटै सम्पन्न हुने काम होइन । यो वर्गीय लडाइमा धेरै पटक जीत र हार हुँदै अन्तिममा सधैँका लागि जीत हुने काम हो । वर्तमानमा वर्गीय मुक्तिका लागि आधार तयार पार्न उद्देश्य निश्चित गर्ने पहिलो शर्त हो । जीवनकालभरि आफूले गर्ने कामको रणनीति तयार पारेर त्यसलाई कार्यनीति मार्फत् सानो सानो एकाइको काम पुरा गर्दै अघि बढ्नु पर्छ । हाम्रा दैनिक कामका परिमाणले जीवनभरको गन्तव्यलाई नजिक ल्याउने गरी आफ्ना गतिविधि अगाडि बढाउनु पर्छ र बीच बीचमा कार्य प्रगति मूल्याङ्कन पनि गर्दै जानु पर्छ । त्यसबाट मात्र मुक्तिको बाटो पहिल्याउन सकिन्छ । त्यसका लागि आफूले र आफ्ना वर्गका मान्छेले संयुक्त रूपमा सङ्घर्ष गर्नु पर्छ ।
No comments:
Post a Comment