Saturday, September 9, 2017

प्राथमिक उपचार सम्वन्धि चेतनामूलक गतिविधिहरू सञ्चालन

प्राथमिक उपचार सम्वन्धि चेतनामूलक गतिविधिहरू सञ्चालन


हरेक वर्ष सेप्टम्बर महिनाको दोस्रो शनिवारका दिन विश्वभरी नै मनाइने प्राथमिक उपचार दिवसको 
अवसरमा घरेलु दुर्घटनामा प्राथमिक उपचार भन्ने मूल नाराका साथ  अाज भाद्र २४, २०७४ (सेप्टेम्बर ०९, २०१७) मा नेपाल रेडक्रसद्वारा केन्द्र, जिल्ला र समुदायस्तरमा विभिन्न चेतनामूलक गतिविधिहरू सञ्चालन गरियो । 

प्राथमिक उपचार सीप प्रदर्शन प्रतियोगिता, उत्कृष्ट प्राथमिक उपचार स्वयंसेवकलाई सम्मान जस्ता गतिविधिहरु सहित नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्ला शाखाको आतिथ्यमा धरानमा राष्ट्रिय कार्यक्रमको मूल कार्यक्रम संचालन भयो । 

मूल कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष संजीव थापाले भन्नुभयो ः प्राथमिक उपचार सेवालाई हाम्रोजस्तो विकासोन्मुख मुलुकमा अझ विस्तारित रूपमा सञ्चालन गर्न आवश्यक छ ।  सोको लागि सोसाइटीलाई स्वास्थ्य क्षेत्रमा कार्यरत निकायहरुको थप सहकार्य र सदभावको आवश्यकता महसुस गरिएको छ । 
बिभिन्न जिल्लाहरुमा   सीपमूलक चेतना कार्यक्रमहरु सञ्चालन ः 
प्राथमिक उपचार सम्वन्धि ज्ञान र शिप सम्वन्धि जनचेतना जगाउने उद्धेश्यले 
यसै अवसरमा भक्तपुर,  सुर्य विनायक ट्रलीबस पार्कमा सडक दुर्घटनाको अवस्थामा टाउको तथा मेरुदण्डको चोट लागेको घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने भन्ने बारेमा कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । कार्यक्रम करीव २०० जनाले अवलोकन गर्नुभएको थियो । त्यस्तै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता दुधपाटी भक्तपुरमा संचालन गरिएको छ । सो अवसरमा भक्तपुर रेडक्रसका सभापति मनोजकुमार थापाले एक घर एक प्राथमिक उपचारक हुनुपर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी प्राथमिक उपचार दिवसकै अवसर पारेर आजै रेडक्र्स सोसाइटी पर्सा शाखाले आफ्नो स्वयंसेवकहरुलाइ प्राथमिक उपचार सीपको पुनर्ताजगी गरेको छ । असोज २ गते हुन गइरहेकोे स्थानीय निर्वाचनमा पर्सा क्षेत्रमा रेडक्र्स प्राथमिक उपचार टोलि परिचालन गरि सेवा पुर्वाउने उदेश्यले पुनर्ताजगी गरिएको हाे ।

गृहणी तथा किसानहरुलाई लक्षित गरि ललितपुरको गोदावरीमा प्राथमिक उपचार सीप सिकाइएको छ ।  

त्यस्तै, बाँके जिल्ला शाखाको आयोजनामा आइसा मदरसा बनातका शिक्षक, शिक्षिका, विद्यार्थीहरुमाझ प्राथमिक उपचार सीप बढाउन अभ्यास प्रदर्शन गरियो । चितवन पारबतीपुरमा निशुल्क  एम्बुलेन्स सेवा सन्चालन गर्न सहयाेग गर्ने ब्यक्तित्वहरुलाइ सम्मान गरिएकाे छ ।
 प्राथमिक उपचार सेवालाई सर्बसाधारण सबैको पहुँच बढाउनका लागि नेपाल रेडक्रस सोसाइटीद्वारा जिल्ला शाखा, उपशाखा, जुनियर तथा युवा सर्कलहरुमार्फत प्रशिक्षण सञ्चालन गरी स्वयंसेवकहरु उत्पादन गर्ने र आवश्यक परेको समयमा सेवा प्रदान गरिंदै आएको छ । हालसम्म देशभर एक हजार एक सय ७१ जना प्रशिक्षक र २७ हजार चार सयको संख्यामा प्राथमिक उपचार  स्वयंसेवकहरु उत्पादन गरिएको नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभएको छ । स्मरणीय छ, घरघरमा प्राथमिक उपचार बारे जानकारी दिने उद्वेश्यले सोसाइटीद्वारा हालसालै मोबाइल एप समेत सार्वजनिक भैसकेको छ ।

No comments:

Post a Comment