नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य
ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भयो । त्यसले मुख्य रूपले अगामी संसदीय र प्रादेशिक चुनावको तयारी, चुनावी तालमेल, कार्यकर्ताहरूको परिचालन आदिबारे विचार गर्यो । त्यसका साथै बैठकले देशको तात्कालिन राजनीतिक स्थिति, सङ्गठनात्मक प्रश्न आदि समेतबारे कैयौँ महत्वपूर्ण विषयहरूमा निर्णयहरू गरेको छ ।
प्रदेश नं. २ को स्थानीय निर्वाचन सम्पन्न भएको छ । त्यो चुनावमा जनताको ठूलो सहभागिता रह्यो र त्यो चुनाव मुख्य रूपले शान्तिपूर्ण प्रकारले सम्पन्न भयो । त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । तर त्यो चुनावसित सम्बन्धित कैयौँ प्रश्नहरूबारे केन्द्रीय समितिको बैठकले आपत्ति र विरोध प्रकट गरेको छ ।
प्रदेश नं. २ को स्थानीय निर्वाचन तेस्रो चरणमा किन गरियो र पहाड र तराई समेतको निर्वाचन एकैपल्ट किन गरिएन ? त्यो राष्ट्रिय महत्वको प्रश्न हो र इतिहासले अहिलेको सत्ता पक्षसित त्यो प्रश्नको जबाफ भागिरहने छ । देशमा तीन चरणमा भएका सबै निर्वाचन एकैपल्ट सम्पन्न गर्नु सम्भव थियो । एकै चरणमा सम्पन्न हुनसक्ने निर्वाचनलाई तीन भागहरूमा सम्पन्न गर्नु पर्ने कुनै आवश्यकता थिएन । पहिले त्यो चुनाव एकै चरणमा गर्ने ठेगान पनि भएको थियो । तर भारतीय विस्तारवाद र मधेशवादीहरूको दवाव वा उनीहरूलाई प्रसन्न बनाउका लागि, मुख्यतः मधेशवादीहरूलाई चुनावमा सहभागि बनाउनका लागि तयार पार्नका लागि त्यो चुनावलाई तीन चरणमा सम्पन्न गर्ने कार्य गरियो । त्यसले गर्दा अरबौँ रूपैयाँ बढी खर्च भयो, बढी समयको दुरूपयोग भयो र जनताले थप बोझ बोक्नु पर्यो । सरकारको त्यस प्रकारको गैरउत्तदायी कार्यको हाम्रो पार्टीले तीव्र शब्दमा आलोचना गर्दछ ।
प्रदेश नं. २ का जनता उत्साहपूर्वक चुनावमा सामेल भए, त्यसबाट मधेशवादीहरूले बारम्बार तराईमा निर्वाचनलाई रोक्न गरेको प्रयत्न, स्वयं मधेशी जनताको हित र उनीहरूको जनमतको विरुद्ध थियो भन्ने कुरा प्रष्ट भएको छ । हाम्रो पार्टीले बारम्बार यो कुरा प्रष्ट गर्दै आएको थियो कि मधेशवादीहरूले तराईका मधेशी, थारु, मुस्लिम, आदिवासी जनताको प्रतिनिधित्व गर्दैनन् र उनीहरू नेपालमा भारतीय विस्तारवादी स्वार्थहरू पूरा गर्न काम गर्ने मुट्ठिभर तत्वहरू हुन् । २०७० को संविधानसभाको चुनावले पनि उनीहरूलाई जनताको समर्थन नभएको कुरा प्रष्ट गरेको थियो । अहिले ६ सङ्गठन मिलेर बनेको राष्ट्रिय जनता पार्टीलाई जनताको अत्यन्त कम समर्थन प्राप्त भएको र उनीहरूको ठूलो पराजय भएको कुराबाट पुनः त्यो कुरा छलङ्ग भएको छ । त्यसबाट यो कुरा पनि प्रष्ट भएको छ कि मधेशी, थारु समेत त्यहाँका सम्पूर्ण जनतामा उच्च प्रकारको देशभक्तिको भावना छ र उनीहरू राष्ट्रिय विखण्डन तथा पृथकतवादी नीतिका विरुद्ध छन् । तराईका जनताको त्यस प्रकारको देशभक्तिको भावनाको हाम्रो पार्टीले उच्च मूल्याङ्कन गर्दछ ।
प्रदेश नं. २ को चुनावमा पैसाको ठूलो पैमानामा चलखेल भयो र सत्ताको दुरूपयोग गरियो । त्यस प्रकारको प्रवृत्तिले देशमा जनतन्त्रको भविष्यमाथि गम्भीर खतराको सङ्केत गर्दछ । त्यसका साथै न्यायपालिका र निर्वाचन आयोग समेतमाथि नियन्त्रण कायम गर्न सरकारले गरेको प्रयत्नबाट देश अधिनायकवादतिर जाने खतरा पनि बढ्दै गइरहेको छ । त्यसप्रति पनि हाम्रो पार्टीले सबै देशभक्त, जनतान्त्रिक र प्रगतिशील पक्षहरूको ध्यान आकर्षित गर्न चाहन्छ ।
चुनावको बेलामा आचार संहिताको व्यापक रूपमा र खुला रूपले उल्लङ्घन भयो । त्यसरी आचार संहिताको उल्लङ्घन स्थानीय निर्वाचनका पहिलो र दोस्रो चरणमा पनि गरिएको थियो । तेस्रो चरणमा त्यस प्रकारको कार्य करिब करिब खुला प्रकारले गरियो । त्यस प्रकारका कारवाहीहरूलाई रोक्न निर्वाचन आयोग असहाय र लाचार नै भएको थियो भन्नका लागि पनि आधार छ ।
मन्त्रीमण्डलको विस्तारको कार्यलाई स्वयं निर्वाचन आयोगले आचार संहिताको उल्लङ्घन भएको भनेर सार्वजनिक रूपले नै आलोचना गरेको छ । तर निर्वाचन आयोगले त्यस प्रकारको आलोचना गरेपछि पनि पुनः अर्कोपल्ट मन्त्रीमण्डलको विस्तार गरियो । त्यो कार्य निर्वाचन आयोग र आचार संहितालाई नै खुला चुनौति थियो । त्यो कार्यको पनि निर्वाचन आयोगले कडा शब्दमा आलोचना गर्यो । यहाँसम्म कि त्यो गल्तिलाई सच्चाउनु पर्ने आवश्यकतामा पनि जोड दियो । तर सरकारको त्यस प्रकारको खुला प्रकारको नै असंवैधानिक र गैरकानूनी कार्यहरूका विरुद्ध निर्वाचन आयोगले कुनै कारवाही गर्न नसकेको मात्र होइन, प्रधानमन्त्रीको त्यस प्रकारको गैरकानूनी कार्यका विरुद्ध कुनै कारवाही गर्न निर्वाचन आयोग लाचार भएको विचार प्रकट गरियो । त्यसबाट आगामी प्रादेशिक र संसदीय निर्वाचनमा अरू ठूलो पैमानामा आचार संहिताको उल्लङ्घन हुने सम्भावना बढेको छ । त्यस प्रकारको कार्यबाट जनतन्त्रको आधार नै कमजोर हुने सम्भावना रहने छ ।
प्रादेशिक राजधानीबारे विभिन्न प्रदेशहरूमा निकै विवाद देखापरेका छन् । त्यस प्रकारको विवादका कारणले राष्ट्रिय एकतामा कुनै पनि प्रकारको आँच पुर्याउनु सही हुने छैन र त्यस प्रकारको विवादलाई सन्तुलित प्रकारले समाधान गर्न प्रयत्न गर्नुपर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट र दृढ मत छ । समस्यालाई त्यसरी समाधान गर्नका लागि हाम्रो पार्टीले प्रत्येक प्रदेशमा अधिकारसम्पन्न प्रादेशिक राजधानी निर्धारण आयोग बनाएर त्यसको सुझाव अनुसार प्रत्येक प्रदेशको राजधानी निर्धारण गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ ।
सङ्घीयता पक्षधर राजनीतिक शक्तिहरूले स्थानीय निर्वाचनलाई सम्पन्न भएपछि देशमा सङ्घीयता स्थापित भइसक्यो भन्ने भ्रम दिने काम गरेका छन् । तर स्थानीय निकाय सम्पन्न हुँदैमा देशमा सङ्घीयता स्थापित भयो भन्ने निष्कर्षमा पुग्नु चिजलाई गलत प्रकारले बुझ्नु नै हो । एकात्मक प्रणाली भएका देशहरूमा पनि स्थानीय निर्वाचनहरू सम्पन्न हुने गर्दछन् र संसारमा त्यस प्रकारका थुप्रै उदाहरणहरू छन् । त्यो अवस्थामा स्थानीय तहको चुनाव सम्पन्न भएको कारणले नै देशमा सङ्घीयता स्थापित भयो भन्ने सोचाइ गलत भएको कुरा स्पष्ट छ ।
हाम्रो पार्टीले संविधानमा जुन प्रकारको प्रादेशिक संरचनाको व्यवस्था गरिएको छ, त्यसलाई सङ्घीयता अन्तर्गतको नै व्यवस्था मान्दछ र संविधानको निर्माणको बेलादेखि नै हामीले त्यसको विरोध गर्दै आएका छौँ र अहिले पनि गर्दछौँ । तैपनि हामीले तात्कालिक रूपमा त्यसको उपयोग गर्दै सङ्घीयताको विरोध र भण्डाफोर गर्ने कार्यमा जोड दिने नीति अपनाएका छौँ ।
हामीले सुरुदेखि नै यो कुरा स्पष्ट गर्दै आएका थियौँ कि सङ्घीयताको परिणाम स्वरूप देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिको सृजना हुन्छ । व्यवहारले बारम्बार त्यो कुरा स्पष्ट गर्दै आएको छ र जनतामा झन्पछि झन् त्यसका विरुद्ध चेतना उठ्दै गइरहेको छ । त्यसैले सङ्घीयतामा देखापरेका असङ्गति र विकृतिहरूको परिणाम स्वरूप नै जनता त्यसका विरुद्ध उठ्ने छन् र अन्तमा त्यो प्रणाली खारेज हुनेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । तर सङ्घीयताको कारणले संविधानका सबै सकारात्मक पक्षहरूलाई विरोध गर्ने हाम्रो नीति रहेको छैन र सङ्घीयताका विरुद्धको सङ्घर्षलाई लगातार अगाडि बढाउँदै जनतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता समेतको कार्यान्वयनका लागि लगातार जोड दिने हाम्रो नीति रहने छ ।
हाम्रो पार्टीले प्रादेशिक र संसदीय चुनावमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन सम्पूर्ण जनतासित अपील गर्दछ । दशकौँको इतिहासले यो प्रष्ट गरेको छ कि राष्ट्रिय जनमोर्चा देशको राजनीतिमा सबैभन्दा उज्ज्वल र निस्कलङ्क छवि भएको राजनीतिक पार्टी हो । संसदमा, सरकारमा र जनताका बीचमा काम गर्दा पनि त्यसले आफ्नो त्यस प्रकारको छविमा कहिल्यै आँच आउन दिएको छैन । दशकौँदेखि त्यसले जनतन्त्र, राष्ट्रियता र जनताका लागि इमान्दारिता पूर्वक काम गर्दै आएको गौरवपूर्ण इतिहास रहेको छ । संविधानसभा र संविधानको कार्यान्वयनको पक्षमा पनि त्यसले लगातार आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको छ । सङ्घीयताका विरुद्ध, जातिवाद, क्षेत्रीयतावाद र राष्ट्रिय विखण्डनका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको छ । त्यसैले प्रदेश वा संसदमा त्यसको बलियो उपस्थिति आवश्यक छ ।
हाम्रो पार्टीले पहिलेको कार्यगत एकता वा तालमेलको नीति अनुसार नै आगामी प्रादेशिक र संसदीय चुनावका बेलामा पनि विभिन्न राजनीतिक दल वा सङ्गठनहरूसित परस्परमा कायम भएको सहमति अनुसार चुनावी तालमेल गर्ने नीति अपनाउने छ, त्यसरी कायम भएको सहमतिलाई इमान्दारितापूर्वक पालन गर्ने प्रयत्न गर्ने छ र त्यस प्रकारको व्यवहार गर्न अरू पक्षहरूसित पनि अपील गर्दछ ।
मिति ः २०७४ असोज ८ गते
मोहनविक्रम सिंह
महामन्त्री

No comments:
Post a Comment