| जनताको जायज आन्दोलन |
सरकारले पाँचौँ प्रदेशलाई विखण्डनका लागि संविधानमा संशोधनको प्रयत्न अगाडि बढाएपछि प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही लगायतका जिल्लाहरूमा सरकारको उक्त प्रयत्नका विरुद्धमा व्यापक आन्दोलन उठी रहेको छ । जनस्तरबाट उठाइएको यो आन्दोलन अत्यन्त जायज छ र सरकारले पाँचौँ प्रदश विखण्डनका लागि संविधानमा संशोधन गर्न जुन प्रयत्न अगाडि बढाई रहेको छ, त्यो गम्भीर रूपमा आपत्तिजनक छ । आफ्नो प्रदेश विखण्डन गराउन नदिनका लागि ५ नम्बर प्रदेशका जनताले जुन आन्दोलन अगाडि बढाई रहेका छन्, यो एक स्वागतयोग्य कदम हो र यो आन्दोलनलाई अझै उच्च रूपमा विकास गरेर लैजान मद्दत गर्नु सम्पूर्ण देशभक्त स्वाभिमानी नेपालीहरूको अहम् कर्तव्य हो ।
५ नम्बर प्रदेशलाई त्यसरी चिरा चिरा पारेर विखण्डन गर्नुका पछाडिको सरकारको उद्देश्य मधेशवादी दलहरूलाई रिझाएर भारतीय विस्तारवादको आशिर्वाद प्राप्त गर्नु रहेको प्रष्ट छ । ५ नम्बर प्रदेश अन्तर्गत रहेका पहाडी जिल्लाहरूलाई तराईबाट अलग गरेर चार र ६ नम्बर प्रदेशमा मिसाउने र नवलपरासीदेखि बर्दियासम्मका तराईका जिल्लाहरूलाई समेटी छुट्टै प्रदेश निर्माण गर्ने गरी सीमाङ्कनमा हेरफेर गर्न सरकारले संविधानमा संशोधन गर्न लागी रहेको छ । यो गम्भीर रूपमा खतरनाक र आपत्तिजनक कुरा हो । यसको पछाडि तराईलाई पहाड, हिमालबाट अलग गरेर कालान्तरमा त्यो प्रदेशलाई भारतीय महासङ्घमा मिसाउने बदनियत लुकेको प्रष्ट छ ।
अहिले सरकारले नवलपरासीदेखि बर्दियासम्मको तराईको भूभागलाई मिलाएर तराईमा अर्को छुट्टै प्रदेशको निर्माण गरे पनि त्यसबाट पनि मधेशवादीहरूको आन्दोलन शान्त हुने छैन । कैलाली, कञ्चनपुर र सुनसरी, मोरङ, झापालाई पनि तराईका प्रदेशमा मिसाउन फेरि उनीहरूले आन्दोलन अगाडि बढाउने छन् । किनकि उिनीहरूको मूल उद्देश्य भारतीय विस्तारवादको योजना मुताविक नेपालको तराई भूभागलाई हिमाल पहाडबाट अलग गरेर छुट्टै प्रदेश निर्माण गर्ने र कालान्तरमा त्यो प्रदेशलाई भारतीय महासङ्घमा मिलाउने नै हो । जसरी बारा, पर्सादेखि सप्तरी, सिराहासम्मको तराई भूभागलाई छुट्टै प्रदेश बनाएर पनि उनीहरूले आन्दोलन जारी राखे, त्यसरी नै अहिले नवलपरासीदेखि बर्दियासम्मको तराईलाई समेटी अर्को प्रदेश बनाए पनि उनीहरूले आन्दोलन रोक्ने छैनन् । उनीहरूले कुन उद्देश्यका लागि किन यो माग अघि बढाई रहेका छन् भन्ने कुरा दिनको घाम झैँ छर्लङ्ग छ । राष्ट्र विखण्डनको बदनियत बोकेर आएको यस्तो मागलाई पुरा हुन नदिनका लागि ५ नम्बर प्रदेशका जनताले जुन आन्दोलन अगाडि बढाई रहेका छन्, यो निकै प्रशंसनीय र सराहनीय छ ।
५ नम्बर प्रदेशका जनताले आफ्नो प्रदेशलाई विखण्डन हुन नदिन एकीकृत आन्दोलन अगाडि बढाई रहेका छन् । प्रतिपक्ष दलहरू मात्र होइन, सत्तँपक्षकै दलहरू समेत स्थानीय रूपमा प्रदेश विखण्डन गर्न नहुने भन्दै आन्दोलनमा सामेल भई रहेका छन् । दैनिक रूपमा पाँच नम्बर प्रदेश अन्तर्गतका प्युठान, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरूमा ठुला ठुला प्रदर्शनहरू भई रहेका छन् । तर पनि सरकारले जनताको त्यो जायज मागलाई सुनी रहेको छैन र ५ नम्बर प्रदेशलाई विखण्डन गर्ने प्रयत्न जारी राखी रहेको छ । सरकारले पाँच नम्बर प्रदेशका जनताले अघि बढाई रहेको आन्दोलनलाई बेवास्ता गरेर महाभूल गरी रहेको छ । ५ नम्बर प्रदेशका जनताको यो जायज आवाजलाई कुल्चिएर अघि बढ्ने धृष्टता सरकारले गर्यो भने निश्चित छ– त्यसको उसले ठुलो मूल्य चुकाउनु पर्ने छ ।
५ नम्बर प्रदेश विखण्डन गर्ने प्रयत्नका विरुद्धमा अहिले प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही लगायतका जिल्लाहरूमा जुन आन्दोलन उठी रहेको छ, यसले त्यस क्षेत्रका लागि मात्र होइन, राष्ट्रिय रूपमा नै विशेष महत्व राख्दछ । त्यो समस्या ५ नम्बर प्रदेशको मात्र होइन, सवाल देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासँग अभिन्न रूपमा जोडिएको छ । नेपाल आमाका अङ्गहरूलाई एक एक गरी टुक्राउन खोजिँदै छ । त्यसैले देशको जुनसुकै भागमा बस्ने स्वाभिमानी देशभक्त नेपालीले पनि यो आन्दोलनमा साथ दिनु अति नै जरुरी छ । ५ नम्बर प्रदेशलाई विखण्डन गर्ने सरकारको यो प्रयत्न सफल भयो भने त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर असर पुर्याउने छ । भारतीय विस्तारवादको नेपाललाई फिजी र भुटान हुँदै सिक्किमीकरण गर्ने योजना साकार हुनका लागि मार्ग प्रशस्त हुने छ । त्यसैले देशका जुनसुकै भागमा बस्ने स्वाभिमानी देशभक्त नेपालीहरूले पनि ५ नम्बर प्रदेशका जनताले अहिले उठाई रहेको प्रदेश विखण्डन विरुद्धको आन्दोलनमा साथ र समर्थन दिन अब विलम्ब गर्नु हुँदैन ।
देशमा क्ष्ँेत्रीय, जातीय कलहको स्थिति सिर्जना गरेर राष्ट्र विखण्डनको स्थिति सिर्जना गर्ने जुन प्रयत्न अहिले भई रहेको छ, यो सबै सङ्घीयताकै कारण सिर्जित भई रहेको हो भन्ने तथ्यलाई हमी कसैले पनि बिर्सनु हुँदैन । सङ्घीयता अन्तर्गत देशको चित्र कस्तो बनाइँदै छ ? देशलाई सङ्घीयतामा धकेल्नुका पछाडिको उद्देश्य के रहेछ ? यी प्रश्नहरू अब रहस्यमय रहेका छैनन् । सङ्घीयता रहेसम्म यस प्रकारका कलह सिर्जना भई नै रहने छन् । त्यसैले प्रदेश विखण्डन विरुद्धको यो आन्दोलनलाई हामीले राष्ट्र विखण्डन विरुद्धको आन्दोलन, सङ्घीयता खारेजीको आन्दोलनसँग जोडेर अगाडि बढाउनु पर्दछ । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि मुलुकलाई सङ्घीय प्रणालीको भुमरीबाट निकाल्नै पर्दछ । सङ्घीय प्रणालीलाई हामीले खारेज गर्न सकेनौँ भने एक दिन यही सङ्घीयताले नै नेपाल खारेज गरी दिने छ भन्ने तथ्यलाई समय छँदै हामी सबैले मनन् गर्नु जरुरी छ ।
|
Thursday, December 1, 2016
जनताको जायज आन्दोलन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment