Saturday, August 27, 2016

‘चुनावका लागि महिला उम्मेद्वार चाहिएको छ, तयारी शुरु गर्नुहोस्’ प्रचण्ड

 ‘चुनावका लागि महिला उम्मेद्वार चाहिएको छ, तयारी शुरु गर्नुहोस्’  प्रचण्ड

pm prachanda
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैतभित्र हरहालतमा चुनाव गर्नुपर्ने बताउँदै पार्टीको भातृ संगठनका महिलाहरुलाई चुनावका लागि तयारी गर्न निर्देशन दिएका छन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी एकता तथा राष्ट्रिय भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चुनावका लागि महिला उम्मेद्वारको खाँचो रहेको बताउँदै त्यसका लागि अहिले देखिनै तयारी शुरु गर्न निर्देशन दिएका हुन् ।
बानेश्वरमा आयोजित कार्यक्रममा उनले भने, ‘सरकारले हर हालतमा चैतभित्र चुनाव गराउनुपर्नेछ । यसका लागि महिला उम्मेद्वार चाहिएको छ । स–सानो कुरामा नअल्झिनुहोस्, चुनावको तयारीमा लाग्नुहोस् ।’
६ वटा महिला संगठनहरुको एकता भइरहँदा नेतृत्वमा विवाद देखिएपछि प्रचण्डले विवादमा नअल्झन सुझाव दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सबै जनवर्गीय संगठनलाई ६ महिनाभित्र सिध्याउन निर्देशन दिँदै पार्टीको मुख नताक्न आग्रह गरे ।
पार्टीले महिलालाई नेतृत्वदायी भूमिका दिलाउन पहल गरेको बताउँदै उनले भने, ‘तीन जना महिला अहिले देशको मुख्य पदमा हुनुहुन्छ । यसको सबैले गर्व गर्नुपर्छ । वहाँहरु सबै माओवादीको प्रस्ताव र समर्थनमा भएका हुन् । हामीले हाम्रो मूल्य र मान्यता स्थापित गर्न वहाँहरुलाई समर्थन गरेका हौं ।’
उनले आन्दोलन सफल हुनुमा महिलाको योगदान ठूलो रहने बताउँदै माओवादी आन्दोलनमा महिलाको सहभागिता भएकै कारण सफल भएको जिकिर गरे ।
उनले आफ्नो छोटो कार्यकालमा धेरै काम गर्नुपर्ने बताउँदै चुनौतीपूर्ण घडीमा सबैको सहयोगको अपेक्षा गरे । ‘महिला, कणार्ली, दलित, आदिवासी जनजाती, गरिब सरकारका प्राथमिकता हुन् । संविधान संशोधन गरेर भए पनि मधेशको समस्या हल गर्न सरकार तयार छ,’ उनले भने ।
फरक प्रसंगमा उनले चीन र भारतसँग समदुरी राखेर विश्वासको वातावरण बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

No comments:

Post a Comment