ओमानमा समाजसेवी दम्पतीको सम्मान तथा बिदाई
मस्कट,
बिगत लामो समयदेखि वैदेशिक रोजगारीको शिलाशिलामा ओमानमा श्रम गरिरहनु भएका दम्पतीद्वय कुल बहादुर तामाङ तथा कान्छीमाया तामाङलाई शुक्रबार एक समारोहबीच सम्मान तथा बिदाई गरियो । 
करिब आठ बर्ष अघि रोजिरोटीको लागि ओमान प्रवेश गरेका काभ्रे, तिमाल मेच्छेका तामाङद्वयले प्रवासमा दु:खमा परेका महिला दिदीबहिनीहरु तथा दाजुभाईहरुको असह्य पिडाहरु देखेर नै होला आफ्नो निजि कामको अलावा पनि उनीहरुको पिडामा निरन्तर साथ दिईनै रहे । ओमान बसाईलाई अन्त्य गर्दै स्वदेश फर्किने खवर पाएपछि सम्पूर्ण साथीसंगीहरू शुक्रवार साँझ घाला बगैंचामा उहाँहरुको बिदाई र सम्मानमा ओइरिएका थिए ।
"यहाँहरुको यो अपार स्नेह र साथ र सम्मानले मलाई अझ एक कदम अघि बढ्न हौसला मिलेको छ, आगामी समयहरु शोषितपीडित महिलाहरुको मुक्ती अभियानमा नै समर्पित गर्नेछु ।" महिला अधिकारकर्मीको पहिचान बनाएकी कान्छीमाया तामाङले भनिन् । संयुक्त बैचारिक सयन्त्र ओमानका सदस्य तथा जनप्रगतिशील मन्च ओमानकी उपाध्यक्ष समेत रहेकी तामाङले केही समय पहिले ओमानको सोहार स्थित एक घरमा मालिकको अमानवीय ब्यवहार र यातनाका कारण प्रताडित अवस्थामा रहेकी एक नेपाली महिलालाई उद्दार गर्न उल्लेखनीय भुमिका निर्वाह गरेकी थिइन् । त्यसो त यसै वर्ष मात्र करिब पाँच जना भन्दा बढी बिपतमा परेका महिलाहरुको संयुक्त सयन्त्र र नेपाली दूतावासको पहलमा उद्दार गरेका थिए ।
जनप्रगतिशिल मन्चकै कोषाध्यक्ष र साँस्कृतिक संयोजक समेत रहेका कुल बहादुर तामाङले नेपालीहरुको समस्या समाधानमा ओमानका संघसंगठनकाबीच बैचारिक मतभिन्नता भएपनि हालसम्मको सहकार्य सुमधुर रहेको र आगामी दिनमा पनि कायम रहने बिश्वास ब्यक्त गर्दै श्रमजिवि मजदुरहरुको समस्यामा साथ दिन पाउनु नै आफ्नो ओमान बसाईको ठुलो उपलब्धि भएको बताए । उनले यहाँ पाएका साथ बिचार र लक्षलाई अठोटका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
ओमानमा स्थापित चार बैचारिक संगठनहरुको साझा मोर्चा संयुक्त बैचारिक सयन्त्र ओमानका संयोजक शोभाकान्त लामिछनेले ओमानमा श्रमजिबि नेपालीहरुको समस्या समाधानमा तामाङद्वयको भुमिका र योगदान अतुलनीय रहेको र उहाँहरुको अभाव सधैं खड्किने बिचार ब्यक्त गर्दै यात्रा सफलता र प्रगतिको कामना व्यक्त गरेका थिए । साथै संयन्त्रको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
जनप्रगतिशील मन्च ओमानका अध्यक्ष पदम प्रसाद अर्यालले ओमानको संगठन बिस्तारमा तामाङ दम्पतीद्वयको योग्दान अमुल्य रहेको चर्चा गर्दै भन्नू भयो "हामीले उहाँहरुलाई एउटा बिचार दिन सफल भएका छौं", उहाँहरु जहाँ रहेपनि मार्क्सवाद, लेनिनवाद, माओवाद र माओत्सेतुङ बिचारधाराको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्ने बिश्वास व्यक्त समेत गर्नु भयो । साथै मन्चको तर्फबाट कदर-पत्र र मायाको चिनोद्वारा सम्मानित गरिएको थियो । मन्चका वरिष्ठ उपाध्यक्ष तुला गिरिको संचालनमा तथा पदम प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न सो समारोहमा ओमान नेपाली एकता समाज महिला बिभाग र मगर संघ ओमानले पनि मायाको चिनो प्रदान गरेका थिए । 

समारोहमा प्रवासी नेपाली मञ्चका अध्यक्ष गगन कार्की, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत जनसम्पर्क समिति ओमानका सभापति फर्शुराम पोख्रेल, नेपाली समाज ओमानका अध्यक्ष ईच्छा राई, गैर आवासीय नेपाली संघका अध्यक्ष दिपक श्रेष्ठ, महिला समूह ओमानकी अन्जु लामा, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष दिल प्रसाद पौडेल, बुद्ध भिजन ओमानका ङेमा तामाङ तथा ओमकार तामाङ, दलित एकता संजालका उमेश बिक, साथै समाजसेविहरु गोबिन्द गुरुङ, लीलानाथ कोईराला, तोलाकान्त भट्टराई लगायतले तामाङद्वयको नेपाली समुदाय प्रतिको सहयोग र योगदानको चर्चा गर्दै यात्रा सफलता अनि प्रगतिको शुभकामना ब्यक्त गरिएको थियो ।


No comments:
Post a Comment