Monday, August 22, 2016

सामाजिक परिवर्तन दुर्गानाथ खरेल

सामाजिक परिवर्तन

दुर्गानाथ खरेल
विकास भनेको, प्राविधिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक प्रक्रिया पनि हो । विकासका लागि राजनीतिक प्रक्रिया मार्फत् निर्णय लिने काम गरिन्छ । जनता सङ्गठित तरिकाले परिचालन गर्ने र जनताको सहभागिता सुनिश्चित गर्ने काम विकाससँग सम्बन्धित राजनीतिक पक्ष नै हुन् । सार्वजनिक उद्देश्य प्राप्तिका लागि राजनीति गर्नु पर्छ । विकास राजनीतिक प्रक्रियाबाट अगाडि बढ्छ । राजनीतिको आवश्यकता विकासमा मात्र होइन, यसलाई सामाजिक प्रक्रियाबाट अलग राख्न मिल्दैन । हरेक व्यक्तिले राजनीति गरी रहेका हुन्छन्, बरु कुन वर्गको पक्षमा र कुन वर्गको विपक्षमा राजनीति भई रहेको छ भन्ने सवाल प्रमुख महत्वको हो । किनभने समाजमा शोषक र शोषित दुई विरोधी वर्ग हुन्छन् । समानता कायम गर्न समाजका खास उपेक्षित समूहलाई सुरक्षित रूपमा आरक्षणको व्यवस्था गरेर समाजको मूल धारमा ल्याउन पनि राजनीतिको आवश्यकता पर्छ । गैर सरकारी संस्थाबाट पनि विकास र राजनीतिको काम गर्न सकिन्छ । राजनीति र संस्कृतिमा परिवर्तन परम्पराको तरिकाले होइन, समानतालाई सुनिश्चित गर्न जनतामध्येका शोषितहरूलाई प्रोत्साहित गर्ने गरी कार्यक्रम बनाउनु पर्छ । विवाहको औसत उमेर र नागरिकको औसत आयु बढ्ने काम पनि विकासको सफलता अन्तर्गतको काम हो । घर–परिवार र परम्पराबाट टाढा हुनाले व्यक्तिमा सिर्जनात्मक प्रतिभा बढी हुने र स्वतन्त्र व्यक्तिको हैसियतमा विकास र राजनीतिमा संलग्न हुँदा परिवर्तनमा सहभागिता बढ्ने देखिन्छ । पुुँजीवाद र औद्योगीकरणले धेरै मानिसलाई एकै ठाउँमा जन्मने, हुर्कने र मर्ने चलनमा व्यापक परिवर्तन गरी दियो । पूँजीवादी संरचना अन्तर्गत नै बुर्जुवा लोकतन्त्र सुरु भएको र फस्टाएको हो । सामन्तवादी अर्थ राजनीतिक र सांस्कृतिक व्यवस्थाबाट अघि बढेर नै पुुँजीवादी र लोकतान्त्रिक व्यवस्था स्थापना र गतिशील हुन्छ । नेपालमा पनि पुुँजीवादी लोकतान्त्रिक परिवर्तनका आर्थिक, राजनीतिक र सांस्कृतिक आधार निर्माण हुँदैछन् । हरेक व्यवस्था गतिशील र परिवर्तनशील हुने भएको हुनाले वर्तमान व्यवस्थाको संरचना र मान्यता पनि आन्तरिक र बाह्य अन्तर्विरोधका कारण मक्किने र भत्किने काम अवश्य हुने छ । 
आर्थिक बृद्धि उच्च भए पनि गरिबी निवारण भई हाल्ने होइन । आर्थिक बृद्धिको किसिम र प्रक्रिया जनमुखी हुनु पर्छ । पिछडिएका वर्ग, जात, जाति, लिङ्ग, क्षेत्र आदि सबैको जीवनशैलीमा परिवर्तन भई आम्दानी बढ्नु पर्छ । आर्थिक बृद्धि दर न्यून छ, बृद्धि दर गाउँमाभन्दा सहरमा बढी भएको, अँैद्योगिक बृद्धिभन्दा व्यापारिक बृद्धि बढी भएको, मुलुकभित्रकोभन्दा वैदेशिक व्यापार बढी हुने र निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने भएकाले गरिबी निवारण नाम मात्रको भएको छ । देशको राजनीतिले उत्पादनशील स्रोत–साधनको स्वामित्व जनतामा हस्तान्तरण गर्ने र उत्पादन बृद्धि गर्नेभन्दा दलाललाई भित्राएर विदेशीबाट शासन गराउनेतिर जोड दिइयो । पार्टीगत राजनीति गर्ने र पार्टीहरूले जनताका बीचमा शोषित–पीडित जनतालाई प्रोत्साहन गरेर विकास गर्ने संस्कृति अघि नबढेसम्म जनताको स्तरोन्नति हुन्न । स्थानीय समस्याको सार्वजनीकरण गर्ने गर्नु पर्छ । निरक्षर हुने, अस्वस्थ हुने, वयस्य व्यक्ति बेरोजगार बन्ने, अधिकांश परिवारमा छाक टार्ने समस्या हुने औसत आयु घट्ने आदि समस्याहरू निजी मात्र नभई सार्वजनिक समस्या पनि हुन् । यस्ता समस्याहरूको समाधान गर्ने प्रयत्न सार्वजनिक रूपमै हुनु पर्छ । यी समस्याहरूको समाधान गर्ने केन्द्रीय सरकार स्थानीय सरकार उद्योग व्यापार क्षेत्रका सङ्गठन, श्रम लगायत अन्य व्यावसायिक सङ्गठनलाई दबाब दिने काम जन सङ्गठनको हो । जन सङ्गठन शोषित उत्पीडित गरिब जनताका मुखपत्र बन्नु पर्छ । सरकार, दातृ निकाय अन्तर्राष्ट्रिय र गैर सरकारी संस्थाको इसारामा चलेर हुन्न । राजनीतिको सम्बन्ध, सङ्गठित शक्तिको निर्माण परिचालन, सद्भाव, बन्धुत्व, सहयोगका साथै शत्रुता र असहयोगसँग पनि सम्बन्धित छ । पार्टीमा मात्र सीमित नभएर समाजव्यापी छ । घर, समुदाय, परिवार, धर्म, सभ्यता, स्वास्थ्य, सडक, बेरोजगारी, गरिबी आदि सबै तह विषय र क्षेत्रमा राजनीति समावेश भएको हुन्छ । नीति निर्माण गर्ने र कार्य सञ्चालन गर्ने कार्यमा स्थानीय जनताको सहभागिता हुन आवश्यक हुन्छ । राजनीतिक कार्यक्रम सञ्चालन गर्नमा आफूले प्रमुख भूमिका निर्वाह गर्नु सङ्गठनको कर्तव्य पनि हो । 
विश्व विद्यालयमा जीवन र जगतसँग सम्बन्धित विषय सङ्गठित रूपले खोजी गर्न अध्ययन गर्ने गरिन्छ । शिक्षाको दार्शनिक पक्ष्ँमा जीवनसँग शिक्षाको सम्बन्ध पर्दछ । शिक्षाले जीवनसँग एकता र सङ्घर्षको जानकारी गराउँछ । जीवनसँग जोडिएको व्यावहारिक शिक्षा र जीवनसँग नजोडिएको सैद्धान्तिक शिक्षामा धेरै अन्तर हुन्छ । हाम्रँे औपचारिक शिक्षा आफ्नो जीवन र आफ्नो समाजबारे कम तथा अरूको जीवन र अरूको समाजसँग बढी केन्द्रित भएको छ । हामीले हाम्रो वर्तमानलाई हाम्रै अतीतसँग दाँजेर पनि नयाँ धारणाको विकास गर्न सक्छौँ । हामीले अरूका बारेमा पढ्ने गर्छौं तर आफूसँग दाँज्ने अभ्यास भने गर्दैनौँ । अरूसँग भएका समानता र भिन्नता दाँजेर हुनु पर्ने गुणका विषयमा अध्ययन गर्नु पर्ने विषय हाम्रो शिक्षामा अत्यन्त थोरै मात्र समावेश छ जुन कुरा बढी हुनु पर्ने थियो । हाम्रो समस्या हाम्रो शिक्षामा भएकाले हामी पिछडिएका छौँ । विद्यार्थीहरूले पनि राष्ट्रिय राजनीतिमा चासो राख्नु पर्छ । विद्यार्थी जीवनको मुख्य पाटो विद्यार्थी राजनीति र सहायक पाटो राष्ट्रिय राजनीति हो । हरेक वर्गको जस्तै समुदायको पनि राजनीतिक क्षेत्र फरक फरक हुन्छ । विश्व विद्यालय विद्यार्थी शिक्षक प्रशासक जस्ता पक्ष मिलेर बनेको संस्था हो । सबै पक्षले आफ्नो कर्तव्य र भूमिकाबारे स्पष्ट भएर सङ्घर्ष गर्न तम्सनु पर्छ । आफ्ना कमी–कमजोरीहरूको मूल्याङ्कन पनि गर्न सक्नु पर्छ । एउटा पक्षले अर्को पक्षलाई दोष थोपरेर आफ्नो सफलता प्राप्त भएको ठान्नु हुन्न । राष्ट्रिय शिक्षा पद्धतिको योजनामा शिक्षा क्षेत्रमा उत्पादित जनशक्ति बेरोजगार बनेकाले असफल भई परिवर्तन गर्नु परेको थियो । शिक्षित जनशक्ति र राष्ट्रिय उत्पादनबीचको असन्तुलन र अन्तविरोधलाई सच्चाउन नसकेका कारणले राष्ट्रिय राजनीतिमा स्थायित्व आउन नसकेको अवस्था कायम छ । ग्रामीण क्षेत्रका दक्ष जनशक्ति समेत सहरमुखी भएकाले देश विकासमा अवरोध पुगेको छ । हाम्रो शैक्षिक पद्धतिले विद्यार्थीलाई संसार र वर्तमान व्यवस्था बुझ्न प्रयत्न गर्नेभन्दा किताब मात्र पढ्ने बनाएको छ । शैक्षिक जनशक्तिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउनु पर्ने अहिलेको आवश्यकता हो । मुलुकको अर्थतन्त्र बलियो बनाउने र त्यसले शैक्षिक प्रसारको गतिलाई अघि बढाउने काम अहिलेको आवश्यकता हो । राज्यकोतर्फबाट शिक्षामा लगानी बढाएर त्यो खाँचो पूर्ति गर्नु पर्छ । 
शिक्षालाई सर्वसुलभ, गुण स्तरीय व्यावसायिक र जीबनोपयोगी बनाउनु पर्ने अहिलेको मुख्य आवश्यकता हो । विद्यार्थीबाटै उत्पादनको सिप आर्जन गर्ने आफ्ना सूचना, भावना, विचार, अनुभव पनि वैद्य र मान्य हुन्छन् भन्ने अनुभूति दिनु पर्छ । सरकार शिक्षालाई बलियो बनाउन सर्वसाधारण जनताको पहुँचमा सरकार हुुनु पर्छ अथवा राजनीतिक सत्ता सञ्चालनमा उनीहरूको पहुँच पुग्न पर्छ । त्यसरी तल्लो वर्गका जाति र समुदायलाई राजनीतिक र सांस्कृतिक रूपमा सशक्त बनाएर मात्र सरकारी स्कुल बलियो बनाउन सकिन्छ । सार्वजनिक विद्यालयलाई शैक्षिक साधन सम्पन्न र गुण स्तरीय बनाउने काम प्राथमिकताका साथ गर्नु पर्छ । शिक्षा प्राप्त व्यक्तिले निष्पक्ष किसिमले रोजगारको अवसर पाउने र रोजगारमूलक शिक्षा पाउन जरुरी छ । राजनीतिक, आर्थिक र सांस्कृतिक शक्ति खास वर्गमा रहेको र शिक्षाको प्रकृति तथा स्वरूप त्यही वर्गको हित गर्ने औजारको रूपमा उपयोग गरिएको अवस्थामा मात्र त्यही वर्गको हित हुन्छ । बहुसङ्ख्यका जनताको सहयोग र समर्थनबाट मात्र त्यस्तो व्यवस्था टिक्न सक्छ । अर्थ राजनीतिक अवस्था खल्बलिएको सामाजिक समूहबीचको सम्बन्ध पुनर्संरचनाको अवस्थामा पुगेको र वर्गसङ्घर्ष तीव्र बनेको अवस्थामा अन्तर्विरोध चर्को भई गतिशील हुन्छ तर यथास्थितिको र एकल प्रभुत्व कायम रहेको अवस्थामा शिक्षा र अर्थ राजनीतिबीच सम्बन्ध पनि स्थिर रहन्छ । अर्थ राजनीतिक क्षेत्र र शैक्षिक क्षेत्रबीच सधै सामञ्जस्य र अन्तर्विरोध कायम रहन्छ । शिक्षाको उद्देश्य, समाज र सामाजिक सम्बन्धहरू मानव निर्मित हुन् । यिनीहरू सधैँ परिवर्तन भई रहेको अवस्थामा हुन्छन् । हामीले सङ्गठित रूपमा अलौकिक शक्तिको र एकाधिकारी शक्तिका विरुद्ध सङ्घर्ष गर्न धार्मिक, जातीय, लैङ्गिक विभेद अन्त्य गरेर समतामूलक समाज निर्माण गर्न सशक्त भूमिका खेल्नु पर्दछ र खेल्न सक्छौँ भन्ने सन्देश फैलाउनु पर्छ । सबै नागरिकहरूको समान अधिकार भएको नयाँ समाज जहाँ मान्छेले मान्छेलाई शोषण गर्न पाउन्न, त्यस्तो समाज निर्माण गर्न शिक्षाले अह्म भूमिका खेल्न सक्छ । शिक्षामाथिको नागरिक हकले सामन्तवादको अन्त्यमा सहयोग गर्छ । लोकतान्त्रिक पद्धतिलाई टेवा दिन्छ र शोषणविहीन समाज निर्माण गर्ने अभियानमा एक खुटकिलो अघि बढ्दै उचाइमा पुग्ने प्रयत्न गर्छ ।
हाम्रो विचार र व्यवहार पनि आदर्श र यथार्थबीचको सङ्घर्षको उपज हो । आदर्शको कुरा गर्दा हामीले सधै यथास्थितिलाई ध्यान दिनु पर्छ । राजनीतिको, अर्थतन्त्रको र स्वास्थ्य प्रणाली लगायत अन्य विषय समेतको विकेन्द्रीकरण हुन जरुरी छ । हामीले धर्म, रीतिरिवाज, चाडपर्व र संस्कृतिलाई पनि आर्थिक, राजनीतिक, सामाजिक र वर्गीय दृष्टिकोण समेतबाट केलाउन सकिन्छ । ऐतिहासिक भौतिकवादी सिद्धान्त अनुसार अलौकिक शक्तिको अस्तित्व उपल्लो वर्ग, जातजाति र लिङ्गद्वारा ऐतिहासिक रूपले खडा गरिएका काल्पनिक कुरा हुन् । त्यसले गर्दा तल्लो वर्ग, जात÷जाति लिङ्गका मानिसहरूको श्रममाथि धेरै पुस्तासम्म कब्जा गर्न शोषण गर्न सजिलो भयो र त्यो काम अझै जारी छ । धर्म र ईश्वर स्वयं मानव समाजद्वारा निर्माण गरिएका काल्पनिक वस्तु हुन् । यिनीहरूले समाज र सामाजिकता दिगो राख्न मद्दत गर्छन् । अलौकिक जगतसम्बन्धी धारणा र व्यवहारले लौकिक धारणा र व्यवहारसम्बन्धी महत्वपूर्ण असर पार्छन् । आर्थिक, सामाजिक र राजनीतिक कारोबारमा समेत अलौकिक जगतसम्बन्धी धारणाले असर पार्ने गर्दछ । समाजलाई केलाउने उपयुक्त तरिका संस्कृतिको परिभाषासँग सम्बन्धित छ । मानव समाजभित्रका व्यक्ति, परिवार, समुदाय, राष्ट्र वर्ग र अन्य सङ्गठनहरू सबैमा निश्चित संस्कृति हुन्छ । त्यसैले समाजलाई केलाउने एउटा तरिका संस्कृति हो । अर्थतन्त्र, राजनीति र संस्कृति समेतको प्रयोगबाट पनि समाज केलाउन सकिन्छ । राजनीति शक्तिसँग सम्बन्धित छ । सामाजिक एकाइबाट शक्तिको चलखेल सुरु हुन्छ । परिवारभित्रको शक्ति विभाजनको जरो परिवार बाहिर सामुदायिक राष्ट्रिय, अन्तर्राष्ट्रिय र विश्व तहको संरचनासँग सम्बन्धित हुन सक्छ । संस्कृतिभित्र आस्था, आदर्श, मूल्य, मान्यता र कार्य प्रक्रिया सबै सम्बन्धित हुन्छन् । सांस्कृतिक पनि निरन्तर परिवर्तन भई रहेको हुन्छ । बाहिरी संस्कृतिले आन्तरिक संस्कृति परिवर्तन गराउन सहयोग गर्छ । सामन्तवादी व्यवस्थामा पूर्वजन्म, कर्म र भाग्य आदिको प्रयोग गरेर सामाजिक विभेद र विभाजन गरिन्छ । जात, धर्म लिङ्ग र संस्कृति परिवर्तन हुन्नन् भन्ने मान्यता रहन्छ । उत्पादन गरिएका वस्तु वा सेवाको उपयोग आफूले आफ्नो कुटुम्बले र आश्रित श्रमिकले उपभोग गर्ने गरिन्छ । अन्त्य कम मात्रै बिक्री–वितरण, मुनाफा र पुनर्लगानी गरिन्छ । त्यसैले सामन्ती संस्कृति विश्वव्यापी नभई स्थानीय हुन्छ ।
अहिलेको विश्वमा आर्थिक र राजनीतिक केन्द्रीकरणको सँगसँगै सांस्कृतिक केन्द्रीकरण पनि अनिवार्य बन्दै गई रहेको छ । पुुँजीवादी संस्कृतिमा सामन्तवादी संस्कृतिमा हुने जन्मजात हैसियत समाप्त हुँदै हैसियत व्यक्तिगत रूपमा र वर्गीय रूपमा विकसित हुँदै जान्छ । नाफाको संस्कृतिको निर्माण पुुँजीवादको प्रमुख महत्वको विषय हो । बढीभन्दा बढी वस्तु बढीभन्दा बढी मान्छेलाई किन्न लगाउने र त्यसबाट बढी नाफा लिने संस्कृतिको निर्माण नै पुुँजीवादी केन्द्रीय संस्कृतिको प्रवृत्ति हो । उपभोगवादी संस्कृतिको विकास गरेर उपभोगको मात्रा र स्तरलाई सांस्कृतिक श्रेष्ठतासँग जोडेर अघि बढाउने काम हुन्छ । शासन व्यवस्था निश्चित विधिको मातहतमा रहने, उत्तरदायी र पारदर्शी हुनु पर्ने संस्कृति पुुँजीवाद अन्तर्गत हुन प्रयत्न गर्ने भए पनि सम्पन्न वर्गको हातमा साधन–स्रोत केन्द्रित हुने र वर्गीय प्रभुत्व हुने भएकाले शोषणलाई तीव्र बनायो । आर्थिक असमानता फराकिलो र दिगो बनाउन आर्थिक, राजनीतिक र सांस्कृतिक केन्द्रीकरण, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सैनिकीकरण गर्दै साम्राज्यवादी पुुँजीवादले जनतन्त्र, समानता र न्यायलाई झन्‌पछि झन् सङ्कुचित बनाउँदै लगेको छ । राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, जनवादी राज्ययन्त्रको निर्माण, जातीय, लैङ्गिक, धार्मिक, प्रादेशिक भेदभावको न्यूनीकरण गर्दै समाजवादी, अर्थतन्त्र, राजनीति र संस्कृतिको बाटो खोलेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । नयाँ जनवादी व्यवस्थाले समानता, न्याय, जनतन्त्र, स्थानीय स्वायत्तता, राष्ट्रिय अर्थतन्त्र, नागरिक अधिकार आदिको पक्ष्ँपोषण गर्दछ । तर पनि ती अधिकार प्राप्त गर्छ । समाजवादमा पुग्नु पर्ने हुनाले त्यतैतिर जाने सङ्क्रमण कालीन व्यवस्था मात्रै हो । श्रमको उचित सम्मान गर्दै उत्पादनका साधनकलाई राष्ट्रियकरण, सार्वजनीकरण र सामूहीकरण गर्दै समतामूलक न्यायपूर्ण, जनतान्त्रिक समाज स्थापनाको संस्कृतिलाई विकास गर्दै समाजवादतिरको बाटो फराकिलो पार्नु पर्छ । आर्थिक र राजनीतिक परिवर्तन बिना सांस्कृतिक परिवर्तन हुन नसक्ने र सांस्कृतिक आन्दोलन बिना आर्थिक र राजनीतिक विकास पनि नहुने हुन्छ । अलौकिक शक्तिबाट लौकिक शक्तिमा, आदर्शवादबाट द्वन्द्वात्मक भौतिकवादमा आस्था परिवर्तन गर्नु वैज्ञानिक संस्कृतिको विजय हो ।
समाज शास्त्रलाई सङ्गठित सम्बन्धहरूको स्वरूप र प्रक्रियाहरूको अध्ययन गर्ने विषयका रूपमा अध्ययन गरिन्छ । समाजको आमूल परिवर्तनका सिलसिलामा सामाजिक, आर्थिक र राजनीतिक वातावरणसँग सङ्घर्ष गर्दा नयाँ किसिमका मान्छे जन्मन्छन् । तिनीहरूबाट नै नयाँ सामाजिक सम्बन्ध पनि स्थापना हुन्छ । दश हजार वर्ष अघि कृषिको विकास र निजी सम्पत्तिको सुरुवात भयो । एक्काइस सय वर्ष पहिले एकथरि मान्छेको मालिक अर्को थरि मान्छे हुने दास व्यवस्थाको सट्टा खेती गर्ने जग्गाको मालिक सामन्त हुने र खेती गर्ने मान्छे किसान हुने व्यवस्था आयो । एक सय अठसठ्ठी वर्ष पहिले समाजवादको सुरु भयो । यी सबै समयावधिमा आफ्नै किसिमका सङ्गठित शक्तिहरू निर्माण भई आमूल परिवर्तन गराए । मान्छेहरूले समाज परिवर्तन हुँदो रहेछ भनेर सोच्न बाध्य भए । एउटा वर्गको शक्तिले आमूल परिवर्तन ल्याउँछन्, अरू वर्गले परिवर्तन अनुकूल बन्दै जानु पर्ने बाध्यता हुन्छ । बाबुआमाको कुरासँग छोराछोरीको कुरा नमिलेर पुस्तान्तर भए जस्तै समाजमा पनि पुस्तान्तर हुँदै जान्छ । नयाँ समस्या समाधान गर्ने क्रममा नै समाज शास्त्रको जन्म हुन्छ । सामाजिक परिवर्तन समाज शास्त्रको जग हो भने परिवर्तन ल्याउने कारण समाज शास्त्रका जननी हुन् । समाज शास्त्रको अध्ययन गर्दा आफ्नै समाजमाथि केन्द्रित हुन जरुरी छ । आफ्नो र अन्य समाजबारे दाँजेर अध्ययन गर्दा नयाँ परिकल्पना आउँछ । वर्तमानबाट इतिहास सुरु गरेर त्यहीँबाट विगत र भविष्यको सम्बन्ध देखाउन सकिन्छ । नेपालमा विद्यमान समाज र संस्कृतिलाई विश्व परिप्रेक्ष्यमा आत्मसात गर्नु आवश्यक छ । विश्वव्यापीकरणले गर्दा विश्व गाउँ जस्तै भएको छ । समाज शास्त्र सार्वजनिक नीति निर्माण त्यसको कार्यान्वयन र त्यसबाट सिक्ने कुरामा संलग्न हुनु पर्छ । समाजको पुनर्निर्माणमा समाज शास्त्रले योगदान दिन सक्नु पर्छ । समाजबारे सम्पूर्ण विषय किताबबाट मात्र नभई वर्तमान समाजबाट पनि बुझ्न सक्नु पर्छ ।

No comments:

Post a Comment