तीजको अवसरमा युएईमा रक्तिमको रमाइलो
उमाकान्त पाण्डे/उज्यालो
उडी हिँड्ने बादल जस्तै मेरो जीवन कथा, जता लान्छ हुरीले जान्छु त्यतै त्यता ।
कहिले कालीको बगरमा त कहिले कतारको खाडीमा, कहिले कर्णाली बचाउँ भन्दै त कहिले राष्ट्रियता बचाउन । सांगीतिक प्रस्तुती मार्फत जन आव्हान गर्दै हिँड्ने गायक जीवन शर्मा शुक्रबारका दिन यसो भन्दै आफ्नो यात्राबारे उपस्थितलाई जानकारी गराउँदै हुनुहुन्थ्यो ।
दर्शकले पनि थपिदिए,
बादल त उड्छ, डुल्छ घुम्दै आकाश चारघेरा भरी
जहाँ जहाँ जानुस् बस्ने त उही जनताकै मनभरी ।
जहाँ जहाँ जानुस् बस्ने त उही जनताकै मनभरी ।
छैन मेरो शरीरमा अत्तरको सुगन्ध
होला बरु जिउभरी पसिनाको गन्ध
होलान मेरा खुट्टाहरु भतभती फुटेको
तर मेरो जिन्दगी यसैमा उठेको ।
होला बरु जिउभरी पसिनाको गन्ध
होलान मेरा खुट्टाहरु भतभती फुटेको
तर मेरो जिन्दगी यसैमा उठेको ।
उपस्थित दर्शकको गडगडाहट ताली लगाए । जनताको पक्षमा शासक वर्गको विरोध गर्दै आफ्ना भाका गुन्जाउने शर्माले फेरी गीति भाकाले नेताहरुलाई व्यंग्य गर्नुभयो ।
कालो धन थुपारेर ढल्की हिंड्नु भन्दा
हलो जोत्नु गिट्टी कुट्नु होला राम्रो धन्दा
हलो जोत्नु गिट्टी कुट्नु होला राम्रो धन्दा
होला बरु झुपडीमा भोकै बस्नु राम्रो
बितोस बरु जिन्दगी पसिनामै हाम्रो ।
बितोस बरु जिन्दगी पसिनामै हाम्रो ।
शर्माले आफ्ना चर्चित भाकाहरु सिमली छाँयामा बसी, कोही साथी सागर पारीलगायत आधादर्जन गीत गाउनुभयो । उहाँले गाएका गीतहरुमा दर्शकले उठेर नाचेर सहयोग गरेका थिए । नेपालबाट आएको रक्तिम कलाकारको टोलीले सीमा पारी, मिनी ओपेरा प्रस्तुत गर्दा उपस्थित दर्शकका आँखा रसाएका थिए ।
युएईमै रहेर लामो समय यता रक्तिम अभियानमा होमिएका कलाकार रक्तिम युएईका अध्यक्ष डम्बर भण्डारी, कोषाध्यक्ष सीता श्रीष, चुमान काउचा मगर, बसन्त थापा, करण कुँवरलगायतले प्रस्तुती देखाएका थिए । अध्यक्ष डम्बर भण्डारी र सीता श्रीषले प्रस्तुत गरेको गीति नाटकले दर्शकलाई भावुक बनाएको थियो ।
यो सबै व्यवस्थापन युएई नेपाली एकता समाजले प्रगतीशिल तीज विशेष कार्यक्रमको अवसर पारेर मिलाएको थियो । नेपालबाट आएका रक्तिम कलाकारहरुको प्रमुख आतिथ्यता, नेपाली दूतावासका तृतीय सचिव पदम राज बोगटीको विशेष आतिथ्यता, विभिन्न संघसस्थाका प्रतिनिधि, व्यवसायीहरु र झन्डै ६ सय नेपाली कार्यक्रममा उपस्थित थिए ।
No comments:
Post a Comment