Tuesday, February 21, 2017

मोहनविक्रम सिंह


मोहनविक्रम सिंह


३ वैशाख १९९२ मा जन्मिएका मोहनविक्रम सिंह ०१० देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा छन् । नेकपा (मसाल)का महामन्त्री सिंह पुराना कम्युनिस्ट नेताहरूमध्येका एक हुन् । ०५७ मा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग ६५ वर्षको उमेरमा उनले विवाह गरे । उनकै पार्टीभित्र पनि यसको चर्को आलोचना भयो । जीवनको उत्तराद्र्धमा रहेका नेता सिंह आफ्नो समीक्षा आफैँ यसरी गर्छन् ।

म स्थिर स्वभावको छु

म जीवनप्रति आशावादी छु, सधैँ प्रसन्न रहन्छु । म आलोचना पचाउन सक्ने मान्छे हुँ । यतिसम्म कि जेलमा रहँदा पनि प्रसन्न रहन्थेँ । त्यसैले आफूलाई स्थिर स्वभावको भन्न रुचाउँछु । मेरो मन सधैँ शान्त र स्थिर रहन्छ । म व्यक्तिगत जीवनमा झनै शान्त छु । कसैसँग रिसाउने, झगडा गर्ने गर्दिनँ । पत्नीसँग मेरो सदावहार राम्रो सम्बन्ध रह्यो । म जस्तोसुकै पारिवारिक दुःख, कष्ट र राजनीतिक आलोचना भए पनि तनावमा आउँदिनँ । जसले मेरो काम र स्वास्थ्यलाई योगदान पुर्‍याएको छ ।

सिद्धान्तमा दृढ छु, विरोधीले घमन्डी भन्छन्

मलाई कतिपय विरोधी तथा विपक्षीहरूले घमन्डी भन्ने गरेको सुनेको छु । म सिद्धान्तमा दृढ भएकाले त्यस्तो भनिएको हो भन्ने मेरो बुझाइ छ । राष्ट्रियताको विषयमा मैले लिएका अडान अरूलाई घमन्ड लाग्ला । यो विषयमा अरूले घमन्डी भने भनुन्, केही फरक पर्दैन । म सिद्धान्तमा दृढ र व्यवहारमा लचिलो छु । त्यसैले, म सबै सहकर्मीसँग मिलेर काम गर्ने मान्छे हुँ । उहाँहरूको कुरा सुनेरै निर्णय गर्छु ।

माक्र्सवादको नीति नै छ, ‘कार्यदिशामा लचिलो र रणनीति (सिद्धान्त)मा दृढ हुनुपर्छ’ भन्ने ।
म यही कुरा ‘फलो’ गर्ने कसरी जडसूत्रवादी भएँ ?

म जडसूत्रवादी होइन

मेराविरुद्ध विरोधीले कैयौँ शब्द प्रयोग गर्छन् । कतिले जडसूत्रवादी पनि भन्ने गरेको सुनेको छु । स्पष्ट हुनुहोस्, म जडसूत्रवादी होइन । माक्र्सवादको नीति नै छ, ‘कार्यदिशामा लचिलो र रणनीति (सिद्धान्त)मा दृढ हुनुपर्छ’ भन्ने । म यही कुरा ‘फलो’ गर्ने कसरी जडसूत्रवादी भएँ ? राजतन्त्रविरोधी हुँदाहुँदै पनि हामीले तत्कालीन राजा महेन्द्रले ल्याएको कोदारी राजमार्गको प्रस्तावको समर्थन गर्‍यौँ । कांग्रेसलगायत संसद्वादी दलहरूसँग कुरा नमिल्ने भए पनि ०४६ को जनआन्दोलनको पक्षमा हामी लाग्यौँ । त्यस्तै हामीले गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, झलनाथ खनाल, केपी शर्मा ओली आदिका सरकारलाई समर्थन गयौँ । यो हामी जडसूत्रवादी होइन भन्ने प्रमाण हो ।

म व्यक्तिगत निर्णयले भूमिगत या अर्धभूमिगत भएको होइन, पार्टीको निर्देशनअनुसार नै हो । 
पार्टीका दीर्घकालीन कार्यक्रमअन्तर्गत यो पनि पर्छ ।

पार्टीले अह्रायो, भूमिगत भएँ

म लामो समयसम्म भूमिगत जीवनमा रहेँ । पञ्चायतकालमा त्यो बाध्यता थियो । बहुदल आएपछि अर्धभूमिगत रहेँ । फेरि ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि भूमिगत भएँ । अहिले अर्धभूमिगत छु । म व्यक्तिगत निर्णयले भूमिगत या अर्धभूमिगत भएको होइन, पार्टीको निर्देशनअनुसार नै हो । पार्टीका दीर्घकालीन कार्यक्रमअन्तर्गत यो पनि पर्छ । पार्टीका यस्ता नीति लागू गर्नु मेरो कर्तव्य हो । हामीभित्रकै एउटा पाटो राष्ट्रिय जनमोर्चा खुला छ । अन्य जनवर्गीय संगठनहरू खुला छन्, तर पार्टीचाहिँ भूमिगत छ ।

पद हाम्रो ‘प्रायोरिटी’मा पर्दैन

राजनीति गरेपछि पदमा जानु गलत नै त होइन । तर, हाम्रो उद्देश्य मन्त्री बन्ने, ठूला पदमा पुग्ने होइन । कोही पदमा पुग्दा उसलाई त फाइदा होला, तर देशलाई के फाइदा भयो त्यो मुख्य कुरा हो । पदमा धेरै जाने मान्छे अवसरवादी हुन्छन् । सत्ताको स्वाद धेरैपटक चाखेको हुनाले उनीहरूमा स्थिरता हुँदैन । त्यसो त हाम्रो पार्टी पनि केपी शर्मा ओली सरकारमा गएको हो । त्यहाँ रहँदा पनि हाम्रा प्रतिनिधि चित्रबहादुर केसीले जनविरोधी र राष्ट्रविरोधी कुनै काम गर्नुभएन ।

मलाई कतिपयले घमन्डी भनेको सुन्छु । म सिद्धान्तमा दृढ भएकाले त्यस्तो भनिएको हो भन्ने मेरो बुझाइ छ । राष्ट्रियताको विषयमा मैले लिएका अडान अरूलाई घमन्ड लाग्ला । यो विषयमा अरूले घमन्डी भने भनुन्, केही फरक पर्दैन ।

राजनीतिबाहेक अरू सोच्दिनँ

मेरो जीवनको मुख्य भाग कम्युनिस्ट आन्दोलनमा बित्यो । ८२ वर्षको भएँ, अझै राजनीतिमा सक्रिय छु । स्वास्थ्यले पनि साथ दिइराखेको छ । काम नगरी म बस्नै सक्दिनँ । त्यसैले, जीवनभर यसैमा लाग्नेछु । करिब ११ वर्ष त मैले जेलमा बिताएँ । राजनीतिबाहेक अरू केही सोचिनँ र सोच्दिनँ । पार्टीले दिएको कार्यनीति पूरा गर्नमा नै मेरो जीवन बित्नेछ । मेरो व्यक्तिगत आम्दानी केही छैन । आर्थिक स्रोत भन्नु नै पार्टी हो । पार्टीको आम्दानीको मुख्य स्रोत ‘पार्टी लेबी’ हो । जनताले दिएको पैसाले पार्टी चलेको छ । आजसम्म कसैलाई पनि धम्क्याएर चन्दा लिएका छैनौँ ।

संघीयता विग्रहको बिउ

हामी संघीयताविरोधी हौँ । नेपालजस्तो धेरै जात–जाति भएको देशमा संघीयताले विग्रह ल्याउँछ भन्ने मेरो बुझाइ हो । विश्वमा १७० भन्दा बढी देशमा संघीयता छैन । यो थोरै देशका लागि मात्र फापसिद्ध भएको छ । नेपालका लागि संघीयता अनुपयुक्त भएकाले हामी यसको सधैँ विरोध गर्छौं । तर, हाम्रो ‘एजेन्डा’ देशको हितमा हुँदाहुँदै पनि लागू हुन सकिरहेको छैन ।

साहित्य मेरो दोस्रो रुचि

राजनीतिपछि साहित्य मेरो रुचिको विषय हो । विद्यार्थीकालदेखि नै साहित्य सिर्जना गर्थेँ । लामो जेल जीवनको अधिकांश समय साहित्य सिर्जनामा लगाएँ । मेरो कतिपय रचना बाहिर आएका छन् । ती राजनीतिसँग सम्बन्धित छन् । त्यसमा ‘राजनीतिका आलोचना’, ‘चार दश दुई भाग’लगायत समालोचना, ‘गुम नृत्य (कवितासंग्रह) आदि छन् । त्यस्तै, ‘फागुन २४ गते, ‘१२ मई’लगायत नाटक प्रकाशित भएका छन् । उपन्यास पनि मेरो रुचिको विषय हो । यसका पाण्डुलिपि धेरै हराए । कहिले कोठा सर्दा त कहिले जेलमा रहँदा जफत गरिए । त्यसैले, प्रकाशित हुन पाएनन् । ‘काम्रेड जलजला’ १५ वर्षदेखि लेखेको, सकिएको छैन ।

कुनै विदेशी शक्तिसँग झुक्दिनँ

हुन त मैले राजतन्त्रविरुद्ध जीवनभर संघर्ष गरेँ । त्यो देशका लागि भार थियो, त्यसैले त गयो । राजतन्त्र त गयो, तर अर्को समस्या उस्तै आयो । अहिले नेपालको प्रधान दुस्मन भारतीय विस्तारवाद भएको छ । भारतीय हस्तक्षेपकै कारण देशकै भविष्य अप्ठ्यारोमा परिरहेको छ । नेपालको स्वतन्त्रतामाथि नै धावा बोल्ने काम भइराखेको छ । राजनीतिमा मात्र नभएर प्राकृतिक स्रोत–साधनलगायत हरेक क्षेत्रमा भारतको हस्तक्षेप छ ।  ठूला दलका नेता सत्ताकेन्द्रित राजनीति गर्छन् । उनीहरू भारतसामु सौदाबाजी गर्छन् र झुक्नुपर्ने अवस्था आउँछ । त्योविरुद्ध हामी संघर्ष गरिहेका छौँ । हामी कुुनै पनि विदेशी शक्तिसामु झुक्दैनौँ ।

धर्मनिरपेक्षताले हिन्दूधर्ममा आँच पुग्नुहुन्न

कम्युनिस्ट भएकाले सैद्धान्तिक रूपमा म धर्म मान्दिनँ । तर, जनताको धार्मिक स्वतन्त्रताको कदर गर्छु । नेपाललाई फेरि हिन्दूराष्ट्र बनाउनुहुन्न । बहुसंख्यक हिन्दू भएकाले त्यसको गलत प्रयोग हुन सक्छ । हिन्दूधर्मको आडमा अझै पनि राजतन्त्र फर्काउने षड्यन्त्र भइराखेको छ । म धर्मसापेक्ष नेपालको पक्षमा होइन । तर, यो सँगसँगै धर्मनिरपेक्षताले हिन्दूधर्मलगायत सनातन धर्महरूमा आँच पुग्नुहुन्न । दसैँ, तिहारजस्ता पर्व धार्मिक पर्व होलान् । तर, तीसँग जनताका भावना पनि जोडिएका छन् । त्यसैले म दसैँ–तिहार बहिष्कार गर्नुपर्छ भन्ने पक्षमा छैन । आफ्नै तरिकाले परिवारसँग दसैँ मान्छु ।

कांग्रेस थिएँ, कम्युनिस्ट भएँ

म १५ वर्षको हुँदादेखि राजनीतिमा लागेँ । म ००७ सालको क्रान्ति गर्दा कांग्रेस थिएँ । क्रान्ति सफल भयो । त्यसपछि एक वर्ष कांग्रेसको रहेर जिएँ । तर, त्यसपछि भने मलाई कांग्रेसका नीतिहरू मन परेनन् । चिनियाँकाजीको हत्या भएपछि पार्टी छाडँे र कम्युनिस्ट भएँ ।

क्रिकेट हेर्छु बुझ्दिनँ, फुटबलका मेसी–रोनाल्डो चिन्छु

राजनीतिकै कारण खेलकुदमा त्यति रुचि भएन तर म ‘अपडेट’ छु । क्रिकेट बुझ्दिनँ, तर हेर्छु । क्रिकेटबारे ‘नलेज’ राख्छु । हेर्दा नबुझे नि ‘रिजल्ट’ थाहा पाउँछु । त्यो पनि सम्भव भएन भने भोलिपल्टका पत्रिका पढ्छु र रिजल्ट थाहा पाउँछु । मलाई थाहा छ– भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, दक्षिण अफ्रिकाजस्ता देश क्रिकेटका ‘पावरहाउस’ हुन् । हाम्रा पालामा क्रिकेट खेलिएन, काठमाडौंमा पढ्दा फुटबल खुब खेलेँ । विश्वकप जर्मनीले जित्यो, यरोकप पोर्चुगलले भन्नेसम्म थाहा छ । मेसी–रोनाल्डोका विषयमा लेखिएका कुरा पढ्छु ।

राजेश हमालबारे सुन्छु, फिल्म हेरेको छैन

भारतमा रहँदा अमिताभ बच्चनका केही चलचित्र हेरेको छु । तर, नाम भने बिर्सिएँ । त्यस्तै, दिलीप कुमार, मधुवाला, शाहरुख खान आदिका चलचित्र पनि हेरेँ, तर नामै बिर्सिएँ । यहाँ राजेश हमालको नाम खुब सुनेको छु, तर फिल्म हेरेको छैन ।

No comments:

Post a Comment