पार्टीमा अनुशासन र एकताको बीचको अन्तरसम्बन्ध
मोहनविक्रम सिंह
कम्युनिस्ट पार्टीभित्र अनुशासनले धेरै नै महत्व राख्दछ । लेनिनले यो कुरामा जोड दिए कि कम्युनिस्ट पार्टीले दुश्मन शक्तिका विरुद्ध ठुलो, लामो र कडा सङ्घर्ष पनि गर्नु पर्दछ । त्यो सङ्घर्ष त्यसले त्यो बेला नै सफलतापूर्वक सञ्चालन गर्न सक्दछ, जब त्यसभित्र कडा र लौह अनुशासन हुन्छ । त्यो अनुशासनको अवधारणा जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित छ ।
जनवादमाथि आधारित त्यो अनुशासनको मान्यतालाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त बताइन्छ । जनवादी केन्द्रीयताका केही खास मान्यताहरू छन् । त्यसमा केन्द्रीयता र जनवादको सामञ्जयता हुन्छ– तलबाट जनवाद र माथिबाट केन्द्रीयता । दुवै मिलेर जनवादी केन्द्रीयता बन्दछ । पार्टीका सबै समिति र केन्द्रीय समितिसम्म तलबाट निर्वाचित हुन्छन् । पार्टीका सबै समितिहरूमा कुनै पनि विषयमा छलफल गर्ने, आफूभन्दा माथिका कुनै पनि समितिहरूका नीति वा कार्यक्रमहरूको आलोचना गर्ने अधिकार हुन्छ । पार्टीको महाधिवेशनमा नै पार्टीका कार्यक्रम, नीति आदि व्यापक छलफलपछि पारित हुन्छन् । महाधिवेशनको बेलामा पार्टीभित्र तलसम्म नै पार्टीका कार्यक्रम नीति आदिबारे छलफल हुन्छ । पार्टीको यो पक्ष जनवाद हो ।
जनवादसित अभिन्न रूपले जोडिएको अर्को पक्ष केन्द्रीयता हो । त्यस अनुसार सबै निर्णयहरू बहुमतका आधारमा हुन्छ । बहुमतद्वारा गरिएका निर्णयहरू अल्पमतले मान्नु पर्दछ । केन्द्रीय समिति सहित माथिल्लो समितिका निर्णयहरूलाई तल्ला समितिहरूले मान्नु पर्दछ ।
उक्त जनवादी केन्द्रीयता र जनवादसित जोडिएका केही पक्षहरूबारे पनि केही प्रकाश हाल्नु पर्ने आवश्यकता छ । सबै पार्टी समितिहरूले बहुमतका निर्णय मान्नु पर्दछ र सबै तल्ला समितिहरूले उपल्लो समितिका निर्णय वा निर्देशनहरूलाई मान्नु पर्दछ । तर त्यसो गर्ने बेलामा उनीहरूलाई आफ्ना मतभिन्नता राख्ने वा अन्तरसङ्घर्ष चलाउने पनि अधिकार हुन्छ । तर त्यो अधिकार पार्टीको निर्धारित नियम अनुसार वा अनुशासनमा बसेर नै हुन्छ ।
कुनै समितिमा अल्पमतमा परेपछि अल्पमत पक्षलाई आफ्नो भिन्न मत राख्ने वा माथिल्लो समितिमा लेखेर पठाउने अधिकार हुन्छ । तर त्यो मत भिन्नतालाई तल्लो समितिमा पठाउने वा बाहिर प्रकट गर्ने अधिकार हुन्न । त्यसो गरेमा त्यो अनुशासनविहीनताको विषय बन्छ र गल्तीको प्रकृति अनुसार कारवाही पनि गरिन्छ । कुनै समिति र अल्पमतको कुनै सदस्यले तल्लो समितिमा वा बाहिर पार्टीको बहुमत वा माथिल्लो समितिको निर्णय वा नीतिलाई नै समर्थन गर्नु पर्दछ । तर महाधिवेशनको बेलामा पार्टीभित्र तलदेखि माथिसम्म आफ्ना मतभिन्नता वा आलोचनाहरू लैजाने अधिकार हुन्छ । कतिपय अवस्थामा पार्टी केन्द्रले कुनै विषयमा आफ्ना भिन्न मतहरूलाई सार्वजनिक रूपमा चलाउन पाइने निर्णय गरेपछि सार्वजनिक रूपमा नै आफ्ना बेग्ला–बेग्लै मतहरू बाहिर लैजान वा त्यसबारे लेखहरू पनि लेख्न पाउने अधिकार हुन्छ । गत कालमा कतिपय अवस्थामा पार्टीले त्यस प्रकारको अभ्यास पनि गर्दै आएको छ ।
जनवादी केन्द्रीयतासित सम्बन्धित एउटा अर्को महत्वपूर्ण प्रश्न छलफलको स्वतन्त्रता र कार्यमा एकताको प्रश्न हो । कुनै समितिमा पार्टीका बेग्ला–बेग्लै स्तरका भेला, सम्मेलन वा महाधिवेशनमा कुनै पनि विषयमा छलफलको स्वतन्त्रता हुन्छ । तर एक पल्ट सहमति वा बहुमतका आधारमा कुनै निर्णय भएपछि कामको दौरानमा कुनै मतभेद प्रकट गर्न पाइन्न र आफ्नो मतभेदका बाबजुद कार्यमा पुरै एकताको प्रदर्शन गर्नु पर्दछ । उदाहरणका लागि पार्टीमा बेग्ला–बेग्लै समयमा विरोध सभा गर्ने, हडताल गर्ने, चुनावको बहिष्कार गर्ने, उपयोग गर्ने आदि निर्णयहरू हुन सक्दछन् । तिनीहरूमा कसैको मतभेद हुन सक्दछ । तर व्यवहारमा त्यो मतभेदलाई प्रकट गर्न पाइन्न र एकताबद्ध भएर पार्टीका निर्णयहरूलाई लागु गर्नु पर्दछ ।
यस सन्दर्भमा एउटा कुराप्रति पनि हाम्रो ध्यान जानु पर्दछ ।माथि जे भनियो, त्यो पार्टी समिति वा पार्टी सदस्यहरूबारे नै सत्य हो । पार्टीले कामको आवश्यकता अनुसार कैयौँ मोर्चा वा जनवर्गीय सङ्गठनहरू बनाएको हुन्छ । तर बेग्ला–बेग्लै मोर्चा वा जनवर्गीय सङ्गठनका समस्याहरूमाथिको अनुशासन, नियम लागु हुन्न वा पार्टी सदस्यहरूले जुन मोर्चा, जनवर्गीय सङ्गठन, स्थानीय निकाय, संसदमा भए पनि पार्टीका बहुमत वा माथिल्लो समितिको निर्णयलाई पुरै लागु गर्नु पर्दछ । अन्य मोर्चा, जनवर्गीय सङ्गठन, कुनै स्थानीय निकाय वा संसदमा भएकाले उनीहरूलाई पार्टी नीति वा निर्णयको उल्लङ्घन गर्ने अधिकार हुन्न । तर पार्टी सदस्य नभएका अन्य मोर्चा वा सङ्गठनहरूका सदस्यहरूले पार्टीले निर्णय नगरेकाले वा त्यसको विरोध गरेकाले पार्टीलाई उनीहरूमाथि कारवाही गर्ने अधिकार हुन्न । उनीहरूलाई पनि पार्टीको नीति वा निर्णयका पक्षमा सहमत गराउने प्रयत्न गर्नु पर्दछ । तर उनीहरूले बेग्लै मत राख्दछन् भने उनीहरूलाई त्यसो गर्ने स्वतन्त्रता हुन्छ । पार्टी सदस्यहरूले भने ती सबै स्थानहरूमा पार्टीको नीति वा निर्णयहरूलाई नै कार्यान्वयन गर्न प्रयत्न गर्नु पर्दछ ।
जनवाद र केन्द्रीयता दुवै पक्षहरूका बीचमा सन्तुलन कायम गरेर नै अनुशासन कायम हुन्छ । पार्टीमा कुनै बेला जनवाद हावी हुन्छ र कुनै बेला केन्द्रीयता हावी हुने गर्दछ । जनवाद हावी भएमा अराजकताको स्थिति उत्पन्न हुन्छ भने केन्द्रीयता हावी भएमा नोकरशाही अवस्थाको सिर्जना हुन्छ । त्यसैले दुवैका बीचमा सन्तुलन कायम गर्ने प्रयत्न गर्नु पर्दछ ।
पार्टी अनुशासनसम्बन्धी जनवादी केन्द्रीयता पार्टी सङ्गठनभित्र लामो सङ्घर्षपछि विकसित भएको सिद्धान्त हो । माक्र्स, एङ्गेल्सको समयमा जनवादी केन्द्रीयता जस्तो कुनै सङ्गठनात्मक सिद्धान्त थिएन । त्यो बेला पार्टीभित्रका बेग्ला–बेग्लै पक्षहरूले खुला प्रकारले आफ्नो मतभेदहरू बाहिर लैजान सक्दथे । ग्रूपहरू बनाउन सक्दथे । बहुमतको निर्णय मान्नु पर्ने कुनै नियम थिएन । माक्र्स, एङ्गेल्सको समयमा कम्युनिस्ट अन्तर्राष्ट्रिय सङ्गठनमा करिब एक दर्जन ग्रूपहरू थिए । त्यही प्रकारको स्थितिमा प्रथम अन्तर्राष्ट्रियको विघटन भयो ।
रूसको समाजवादी क्रान्तिपछि लेनिनको नेतृत्वमा कम्युनिस्ट पार्टीको गठन भयो । त्यसले जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा पार्टीको सङ्गठन गर्ने कार्यपद्धति अपनायो । लेनिनका विरोधीहरूले लेनिनको त्यसरी पार्टीको सङ्गठन गर्ने प्रयत्नको कडा विरोध गरे । रोजा लक्जम्बर्ग समेतले त्यसको विरोध गरिन् । कडा अनुशासित पार्टी बनाउँदा त्यो जनताबाट अलगिन्छ र ठुलो समूहबाट हामी अलगिन्छौँ भन्ने उनको विचार थियो । मेन्सेभिकहरूले पनि लेनिनको त्यो सङ्गठनात्मक नीतिको कडा विरोध गरे । बुर्जुवा पार्टीले पनि लेनिनको त्यस प्रकारको नीतिको कडा विरोध गरे । उनीहरूको तर्क थियो– लेनिनको सङ्गठनात्मक नीतिका कारणले व्यक्तिको अभिव्यक्तिको स्वतन्त्रताको हनन् हुन्छ । त्यसैले उनीहरूले आफ्नो सङ्गठनमा अभिव्यक्तिको स्वतन्त्रतालाई पुरै छुट दिन्छन् । त्यसको परिणाम के हुन्छ ? ने.का.भित्र खुला प्रकारले एक–अर्काका विरुद्ध हुने आलोचना, त्यहाँ अनियन्त्रित रूपले चल्ने गुटबन्दीबाट छर्लङ्ग हुन्छ ।
कुनै कम्युनिस्ट पार्टीको जति जति क्रान्तिकारी सिद्धान्त वा राजनीतिक लाइनबाट विचलन हुँदै जान्छ, सङ्गठनात्मक रूपले लेनिनवादी सङ्गठनात्मक प्रणालीबाट पनि उनीहरूको विचलन हुँदै जान्छ र उनीहरूले बुर्जुवा प्रकारको सङ्गठनात्मक प्रणाली अपनाउँदै जान्छन् । त्यही कुरा पार्टीका सदस्यहरूबारे पनि लागु हुन्छ । जति सैद्धान्तिक, राजनीतिक प्रकारले त्यसको चिन्तन वा चरित्रको पतन हुँदै जान्छ, उसले सङ्गठनात्मक प्रश्नमा पनि माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई छोड्दै जान्छ । सङ्गठनात्मक रूपमा उसको त्यस प्रकारको विचलन पार्टी वा उच्च समितिहरूका निर्णयहरू नमान्ने, आफ्नो मतभेदहरू, आलोचनाहरूलाई सार्वजनिक रूपले नै बाहिर लैजाने, गुटबन्दी गर्ने, ब्याक वाइटिङ गर्ने आदि गर्न थाल्दछ । उसले त्यस अनुसार आफ्नो समूह बनाउन प्रयत्न गर्न थाल्दछ ।
विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको प्रभाव बढ्नुका साथै सङ्गठनात्मक रूपमा पनि माक्र्सवादी–लेनिनवादी प्रणाली कमजोर हुँदै गएको छ । बुर्जुवा वा संशोधनवादीहरूको असरले गर्दा पनि जनवादी केन्द्रियताको सङ्गठनात्मक प्रणाली बोझ वा अव्यावहारिक जस्तै बन्न थाल्दछ । त्यसैले उनीहरूले कम्युनिस्ट पार्टीले झैँ होइन, बुर्जुवाहरूले झैँ आफ्ना मतभेदहरूलाई खुला रूपले प्रकट गरेर गुटबन्दी आदि गर्न थाल्दछ । त्यसको त्यस प्रकारको अनुशासनविहीन तरिकालाई रोक्न, नियन्त्रित गर्ने प्रयत्न गरियो भने उसको स्वतन्त्रता हनन् गरे जस्तो लाग्दछ । त्यो उनीहरूको दृष्टिकोणको समस्या हो । उनीहरूको चिन्तन गैर माक्र्सवादी–लेनिनवादी भएकाले नै उनलाई अनुशासनमा बस्न कठिन र असह्य बन्दै जान्छ । अर्का शब्दमा, उनीहरूको चिन्तन र दृष्टिकोणले अराजकतावादी रूप लिँदै जान्छ । त्यसैले पहिलो आवश्यकता यो हो कि उनीहरूलाई प्रशिक्षण दिँदै जानु पर्दछ । खास गरेर पार्टीको कार्यकर्ताहरूमा परेको बुर्जुवा वा संशोधनवादी असरलाई प्रशिक्षणद्वारा हटाउँदै लगेमा माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीमाथि आधारित माक्र्सवादी–लेनिनवादी पार्टीको निर्माण हुन सक्दछ । त्यसरी नै हामीले राजनीतिक रूपले सशक्त भूमिका खेल्न सक्दछौँ ।
माथि जे भनियो, त्यो पार्टी वा पार्टीका सदस्यहरूका सन्दर्भमा लेखिएको हो । हाम्रा कतिपय मोर्चा वा जनवर्गीय सङ्गठनहरूले पनि जनवादी केन्द्रीयताको सिद्धान्तलाई आफ्नो सङ्गठनात्मक प्रणालीका रूपमा अपनाएका छन् । पार्टीमा अझै कडाइपूर्वक जनवादी केन्द्रीयताको आधारमा अनुशासन कायम गर्न मुश्किल पर्दछ । तैपनि मोर्चा वा जनवर्गीय सङ्गठनहरूमा पनि प्रशिक्षण दिएर उनीहरूमा पनि जनवादी केन्द्रियतालाई लागु गर्दै अनुशासनलाई मजबुत पार्ने प्रयत्न गर्नु पर्दछ । पार्टीको अनुशासन सही सिद्धान्त र राजनीतिक लाइनमाथि आधारित हुनुपर्दछ । सही सिद्धान्त र राजनीति निश्चित भएपछि सङ्गठनको महत्वपूर्ण भूमिका हुन्छ । सङ्गठनको मापदण्ड भनेको अनुशासन हो । अनुशासन भङ्ग भयो भने पार्टी एकता भङ्ग हुन्छ । पार्टी कमजोर हुन्छ । त्यो अवस्थामा त्यसले कुनै भूमिका खेल्न सक्दैन । त्यसैले विरोधीहरूले कम्युनिस्ट पार्टीभित्र जति अनुशासनविहीनता हुन्छ, त्यसलाई प्रोत्साहन दिन्छन् । तर पार्टी आफ्नो राजनीतिक भूमिका त्यो बेला नै पुरा गर्न सफल हुन्छ, जब त्यसको सङ्गठन बलियो र एकताबद्ध हुन्छ । त्यसका लागि अनुशासन निर्णयात्मक महत्वको कुरा हो ।

No comments:
Post a Comment