Sunday, October 16, 2016

विजयादशमी

                          विजयादशमी



                                                                          



 
ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

विजयादशमी विशेष अडियो सामाग्री टिका अनि अाशिर्वाद थाप्ने दिन
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा मासुका विभिन्न मिठा परिकारहरू पक्कै पनि बनेका होलान् । गज्जबको पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टिको थाप्ने तयारी गरिरहनुभएको तपाई सबैलाई विजयादशमीको दशाैं दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार वस्ति समेत आज विहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेकोछ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो-दैलो कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरि, सबैलाई दशैंको उर्जायूक्त रंगले छोएको छ ।

यो पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । दशैं बाैद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बाैद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै बिजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमश सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । गाँउका ज्येष्ठ नागरीकहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टीका थापेपछी नयाँ, वास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । ति नोटहरुमा लतपतिएको अक्षताको रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना अायो तपाइलार्इ ?

घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजु अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ ।आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक साैहार्दता र सामिप्यतामा कति विश्वास राख्छाैं भन्ने कुरालार्इ प्रस्ट पार्दछ । 

वैदिक सनातन धर्मानुयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशाैं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ । टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालार्इ पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ । आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुनेगर्दछन् ।

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद 

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ:

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जस्ले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं । 

वर्षदिनभित्र परिवारमा कसैको मृत्यूभएर शोक परेको परिवारमा दशैं मनाइदैन । यस वर्ष गत वर्ष अाएको महाविनाशकारी भुइँचालोमा मृत्युभएका परिवारहरुले पनि यस वर्ष शोक फूकाएर दशैं मनाउँदै हुनुहुन्छ । शोक त एकवर्षमा सकिन्छ तर यादहरु अनि वितेका ब्यक्तिको उपस्थितियूक्त झझल्को सधैं बाँचिरहन्छ । दशैको यो उत्सवमा ति परिवारहरुप्रति भावनात्मक श्रद्धासुमन अर्पण छ ।

यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकाैं । सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका अायामहरू थपिंदै जाउन् । विजयादशमीको धेरै धेरै शुभकामना ।


अाज गैर आवासीय नेपाली दिवस
मान्छे स्वभावैले घुमन्ते प्राणी हो, कुनै देश या प्रदेश अनि प्रान्तको भौगोलिक सीमानाभित्र मान्छे सकूंचीत भएर बस्दैन । चरा, नदि, बतास अनि मान्छेहरु जहिले पनि एक स्थानबाट अर्को स्थान छोडेर अन्यत्र गइरहेको इतिहास छ । अब त झन संसारलाइ नै एउटा गाँउका रुपमा परिभाषित गर्न थालिएको छ । यसको अर्थ हामी सबै पृथ्वी नामक गाउँका एउटै गाँउलेहरु हौं ।

प्रसङ्ग हो आजको गैर आवासीय नेपाली दिवसको, नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ, जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलार्इ पनि बुझाउँदछ । सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवासगर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।

अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ । चार जात र छत्तिस वर्णको फूलवारीका रुपमा परिभाषीत हामी नेपालीहरुको पहिचान अब नेपाल सीमाना बाहिर पनि बढ्दै गएको छ । अन्तराष्ट्रिय जगतमै वीर, वहादूर, इमान्दार र सृजनात्मक परिचयमाझ नेपालीहरुको उपस्थितीमा वृद्धी भइरहेको छ । हरेक वर्ष आश्विन २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाइन्छ । गैर आवासीय नेपालीहरुको नेपाल प्रतिको भावना र सद्भाव सराहनीय छ । देश बाहिर छरिएर रहेका नेपालीजनको एउटै छाताको पहिचानभित्र नेपालले सद्भावना र विकासका बूँदाहरूमा काँचुली फेर्न सकोस्, सबैलाई शुभकामना ।

No comments:

Post a Comment