कसरी हुन्छ समृद्ध नेपाल ?
मानवजाति बाँच्नको लागि मुलत हावा, पानी, अन्न, तरकारी, फलफुल, दुध माछामासु चाहिन्छ । त्यतिले मात्र पुग्दैन अन्य लत्ता कपडा, शिक्षा, स्वास्थ्य लगायत विलासीताका बस्तुहरू पनि चाहिन्छ । यावत चिजहरूमा आत्म निर्भर नभएको अवस्थामा केवल बाच्नका लागि नभै नहुने अत्यावश्यक बस्तु उत्पादन गर्नका लागि राज्य लगायतका आम नागरिकले विशेष ध्यान दिन जरुरी हुन्छ । कुनैपनि विकासले एकै पटक फड्को मार्दैन, क्रमशः हुँदै जाने हो । युरोप, अमेरिका, दक्षिण कोरिया, चीन, लगायत विश्वका कैयौँ देशहरूको विकास पनि क्रमशः नै भएका थिए । ति देशहरूले पहिलो प्राथमिकता केलाई दिनें भन्नेबाट नै सुरु गरेका थिए । संसारका जुनसुकै मुलुकहरूले विकासको कामलाई अगाडि बढाउने क्रममा तत्काल नभैनहुने वा तत्काल प्रतिफल चाहिने विषयलाई आधार मानेर विकासको गतिलाई अगाडि बढाएका उदाहरणहरू पाउन सकिन्छ । मानव समाजमा सबैभन्दा पहिले चाहिने बस्तु भनेको खाना हो । खाना नभइकन मान्छेले केही पनि गर्न सक्दैन । यो सर्वमान्य सिद्धान्त हो । विकसित देशहरूले विकासका योजनाहरू मध्य कृषिलाई बढी प्राथमिकता दिने गरेको पाइन्छ । अब नेपाल पनि त्यो दिशामा अगाडि बढ्नु पर्दछ ।
नेपाल प्राकृतिक रूपमा अनुपम र भरिपूर्ण छ । नेपाललाई विश्वका कतिपय देशहरूले सुनको चिढीया भनेर चिन्दछन् । दुर्भाग्य, प्राकृतिक रूपले भरिपूर्ण देशले असल नेतृत्व भने पाउन सकेन । त्यसैले देश धेरै पछाडि पर्न गयो । तर पनि अनुपम प्रकृति त हामी सँगै छ अबका शाषकहरूले विगतमा भएका कही, कमजोरी र गल्तीहरूबाट राम्ररी पाठ सिकेर राष्ट्र, रष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाललाई आत्मसाथ गरेर नेपाली विज्ञ, विशेषज्ञ, प्राविधिक, कुटनितिज्ञ र असल नागरिक समाजहरूसँगको परामर्श लिएर देशलाई समृद्धितर्फ लैजानको लागि अब बिलम्ब गर्न हुँदैन । शाषक वर्ग सदैभ र भ्रष्टाचारमा लिप्त रहे, भ्रष्टाचारले पनि सिमा नाघि सक्यो । आज विश्वभर कोरोना भाइरसको माहामारीले मानवसमाज अत्यन्तै अक्रान्त बनेको अवस्था छ । लाखौ मानिसको मृत्यु भैसकेको छ भने सङ्क्रमितको सङ्ख्या झन्भन्दा झन् बढेर विश्वभर भयावहको स्थिति उत्पन्न भएको छ । यो महामारीबाट नेपाल पनि अछुतो रहेन । हाम्रो देशमा पनि महामारीको पीडाले प्रवासी नेपालीहरू लगायत देश भित्रका नागरिकहरूको स्थिति पनि गम्भीर बन्दै गएको छ । कैयौँ नपालीहरूको ज्यान गैसकेको अवस्था छ । अहिलेसम्म देशभित्रभन्दा प्रवासमा रहेका नेपालीहरूको मृत्यु हुनेको सङ्ख्या बढीरहेको छ । महामारी र यसको प्रकोप दिनप्रति दिन बढ्दै गएको अवस्था छ । करिब ३ करोड जनसङ्ख्या भएको देश त्यसको एक चौथाई नागरिक रोजगारीको लागि भारत लगायत विश्वका अन्य देशहरूमा गएका छन् । विश्व महामारीबाट पीडित भई अलपत्र परेका प्रवासी नेपालीहरू आफ्नै देशभित्र आउन चाहेका छन् । भारतबाट त हप्तौ दिन लगाएर हिंड्दै लुकिछिपी नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । कैयौँ नेपालीहरू बोर्डर (दशगजामा) आएर अलपत्र छन् । कोही नेपालको बोर्डर नजिक भारतर्फ नै कोरेन्टाइनमा भेडाबाख्रा झैं एकै कोठामा दर्जनौलाई थुनेर राखेको अवस्था छ । उनीहरू नेपाल आउन चाहन्छन् । उनीहरू मर्नपरे पनि आफ्नै परीवारको नजिक रहेर मर्न चाहन्छन् । यही स्थिति विश्वका अन्य देशहरूमा रहने नेपालीहरूको पनि हो । यसरी प्रवासी नेपालीहरूले विभिन्न देशबाट रुदैं नेपालका प्रधानमन्त्रीसँग नेपाल फर्किने वातावरण मिलाई दिनोस् भनेर दिनदिनै चिच्याइ रहेका छन् । यस्तो दुःखको घडीमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भन्नु हुन्छ, “यतिठूलो सङ्ख्यामा रहेका प्रवासीहरूलाई कसरी देशभित्र हुल्ने ? मुखले भन्न जति सजिलो छ व्यवहारमा त्यस्तो हुँदैन, अलपत्र परेका नल्याई नहुनेलाई मात्र व्यवस्थापन हुन सक्तद । हुलाका हुल नेपालीहरूलाई ल्याउन त ल्याउने तर व्यवस्थापन कसरी गर्ने ?”
प्रधानमन्त्रीको यो अभिव्यक्ति सुन्दा दुनिया नै अचम्मित हुनेकुरा स्वभाविक नै छ । लाजैै नमानीकन प्रधानमन्त्री संवोधनमा बोलेका कुरा जगजाहेरै छ । मत प्रधानमन्त्रीलाई “विचरा” भन्न चाहन्छु । अहिले विश्व सङ्कटमा छ भने नेपाल त महांसङ्कटमा छ । यो माहासङ्कटलाई सामना गर्न नसक्नु ओलिको मात्र जिम्मेवारी हैन । यसको जिम्मा पूर्व सत्ताधारीहरूले पनि लिनुपर्दछ । पालैपालो सत्ताको रसस्वादन गरेका ति सबैले धेरै थोरै जिम्मा लिनुपर्दछ । ३ करोड नेपाली जनतालाई ति सबैले जबाफ दिनु पर्दछ । जसले विदेशमा बसेर खरबौ रेमिट्यान्स देशभित्र भित्राए । नेपालमा गणतन्त्र ल्याउनको लागि प्रवासी नेपालीहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ । लाखौ प्रवासीहरूको जिउ ज्यानको सुरक्षा यिनी भ्रष्टचारीहरूले लिन पर्नेकि नपर्ने ? नेपालीहरूलाई सङ्कटको घडीमा सुरक्षा दिन नसक्ने सरकार कस्को लागि हो ? यसको बढी जिम्मा वर्तमान दुई तिहाईको कथित कम्युनिष्ट सरकारले नै लिनु पर्दछ भने केही हदसम्म पूर्व सत्ताधारीहरू पञ्चे र काङ्ग्रेसले पनि लिनुपर्दछ ।
विश्वमा यस प्रकारका महामारी आउने गरेको यो पहिलो घटना हैन । सन् १८५२भन्दा पहिला नै यन्टोनाइन प्लेगबाट ५० लाख, जस्टीनियन प्लेगबाट ५ करोड, ब्लाक डेथ प्लेगबाट ५ करोड, १९१८ मा स्पेनिसफ्लुबाट ५ करोड, १९५७ मा एसीयन फ्लुबाट ११ लाख, १९१० मा कोलेरा (हैजा)बाट आठ लाख, १९६८ मा हङ्कङ् फ्लुबाट १० लाख, १९८१ मा एच.आई.भी. एड्सबाट दुईकरोड वाइस लाखसम्म विश्व मानवजातिको मृत्यु भएको रहेछ । संसारमा यस्ता महामारी आउने गर्दछन् । २०७२ सालमा नेपालमा भुकम्पले ठूलो क्षति पुर्यायो लगत्तै ४ वर्षको अन्तरालमा आत्मघाती महामारी कोरोना फैलियो । यो दुःखद पक्ष हो, तर पटक पटक मुलुकको शासन सत्ता सम्हालेका शाषकहरूले भैपरी आउने विपद तथा जोखीमहरूको बारेमा पूर्व सतर्कता तथा सावधानी अपनाउन पर्नेकी नपर्ने ? राज्यले विपत व्यवस्थापनका लागि अलगै कोष खडागरेर बाढी पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोष र महामारी जस्ता जघन्य रोगबाट कसरी बच्न सकिन्छ र कसरी आपत विपतलाई न्यूनिकरण गर्न सकिन्न भनेर पूर्वानुमान गर्न सक्नु पर्दथ्यो । जतिबेला विपद आइपर्दछ त्यतिबेला मात्र त्यसको उपाय खोज्न थाल्नु नै सरकारको असक्षमता हो । विगतबाट पाठ सिकेर आगामी हुने अप्रत्यासीत घटनाको बारेमा राज्य चनाखो हुन जरुरी छ । वर्तमान सरकारले समृद्धीका नारालाई निकै प्रचारको गरिरहेको छ । सरकारले एकैपटक दिर्घकालिन महत्वका राष्ट्रिय गौरवका योजनाहरू जस्तैः पानी जहाज, रेल, सडक, घर घरमा ग्याँस पाइप, विद्युत निर्यात जस्ता महत्वकांक्षी कुराहरू गरेको छ । कुरै गर्न नपाइने त होइन सरकारले सपना देख्नु पर्दछ तर तिनी सबै योजनाहरूलाई प्राथमिकताका आधारमा गर्नु पर्दछ । सरकारले अब कोही नेपाली भोको बस्नु पर्दैन पनि भन्यो । तर आफ्नै नागरिक प्रवासमा अलपत्र छन्, जसले मलाई नेपालसम्म पुर्याईदेउ भनेर चिच्चाएका छन् तिनीहरूको उद्दार गर्न सकेको छैन, यस्तो हैसीयतले कसरी हुन्छ समृद्ध नेपाल ?
देशलाई समृद्ध बनाउन एकै पटक चौतर्फी हात हालेर राष्ट्रिय ढिकुटीलाई कुखुरालाई चारो छरे जस्तै गरेर समृद्ध हुँदैन । तत्काल जनतालाई दैनिक नभईनहुने अत्यावश्यक उपभोग्य वस्तुहरूको अभावलाई परीपूर्ति गर्न जरुरी हुन्छ । राज्यले प्रवासबाट फर्केका र अब फर्किने युवा तथा देशभित्रका वेरोजगारहरूलाई राज्यले पहिलो रोजगारको प्राथमिकता कृषि, दोस्रो हाइड्रो, तेस्रो पर्यटनलाई दिनुपर्दछ । मान्छेलाई सबैभन्दा पहिला खान चाहिन्छ । त्यसपछि शिक्षा, स्वास्थ्य लगायत अन्य कुराको आवश्यकता पर्दछ । अहिले विश्वसामु सबैभन्दा ठूलो चुनौति खाद्यान्नको हुनेछ । जनतालाई भोकमरीबाट कसरी बचाउने भन्नेबारे विश्वको ध्यान जानु पर्नेछ । नेपालको हकमा त झनै चुनौती थपिएको छ । विश्वभर झण्डै ६०/७० लाखको हाराहारीमा रहेका युवा, युवतीहरू अहिलेको महामारीको कारणले लाखौको सङ्ख्यामा नेपाल भित्रीने छन् । त्यतिबेला खाद्यान्नको ठूलो सङ्कट पर्नेछ । प्रवासी नेपाली बाहेक देशमा मौज्दात जनसङ्ख्यालाई पनि वर्षमा अरबौँ रूपैया बराबरको खाद्यान्न आयात गर्न परेको छ, त्यसमाथि थपिने सङ्ख्यालाई कति चाहिन्छ स्वतः स्पष्ट छ । त्यसैले सरकारले अब विलम्ब नगरिकन पहिला काम कृषिकर्मलाई नै प्राथमिकता दिनुपर्दछ । हामीसँग प्रसस्त भूमी, जल र श्रम शक्ति छ, मात्र सरकारसँग भिजन छैन । यसको मतलब दक्षजनशक्ति अथवा देश विकास गर्ने प्लानर र तथा एक्सपर्टको खाँचो छैन । उनीहरूलाई राखेर देशलाई समृद्धि बनाउनको लागि छलफल गरी योजना बनाउने विषयमा सरकारको चासो रहेन । देशले गति लिन सकेन, सधंैभरि विदेशीहरूसँग हात थाप्ने, परनिर्भर हुने स्थतिको अन्त्य कहिलेसम्म हुने हो ? परनिर्भरताको कारण हामीलाई विदेशीले सधैँभरि हेपिरहन्छन् । हाम्रो सार्वभौमिता र राष्ट्रिय अखण्डतामाथि धावा बोल्दछन् ।
अब काम गर्ने क्षमता राख्ने युवाहरूलाई पलायन हुन दिने हैन, देश भित्रै रोजगारको व्यवस्था मिलाउनु पर्दछ । पहिलो काम अन्न, फलफुल, तरकारी, दुध, माछा, मासु, औषधी उत्पादन गरेर देशलाई आत्मनिर्भर गराउन पर्दछ । त्यसको लागि सरकारले कृषिमा बढी लगानी गर्नुपर्दछ । उन्नत बिउ बिजन, मल, सिञ्चाईको प्रबन्ध गर्नुपर्दछ । भ्रष्टचारलाई न्यूनिकरण लगायतका कामको लागि सरकारले सङ्कल्प प्रस्ताव पारीत गर्नुपर्दछ । भ्रष्टचार विकासको बाधक भएको छ । भ्रष्टाचारसम्मको अन्त्य भए पनि नेपाल राष्ट्रले कोल्टे फेर्न सक्नेछ । त्यसपछि मात्र समृद्ध नेपाल सुखी नेपाली भन्ने वर्तमान सरकारको नारा सार्थक हुनेछ ।

No comments:
Post a Comment